काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ गतेदेखि लिलामीमा विक्री खुला गरेको अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थपिएको छ । यस अघि जेठ १९ गतेसम्म उक्त लिलामी शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने जानकारी कम्पनीले गराएको थियो । जेठ १९ गते पुनः सूचना जारी गर्दै कम्पनीले एक दिन अवधि थप गरी जेठ २० गतेसम्म तोकेको हो ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण नभएको संस्थापक तर्फको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण तर्फको लकइनमा रहेको १ लाख ६५ हजार ९५६ र लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । कम्पनीको लकइनमा रहेका उल्लेखित शेयर पनि आगामी असार ७ गतेपछि फुकुवा हुनेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा विक्री खुला हुने यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोहीबराबरको हकप्रद शेयर निष्कासन गरेको हो । विक्री नभएको बाँकी शेयर समेत बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।