काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत फागुन १३ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । १० प्रतिशत बोनस शेयरसँगै कम्पनीले शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । पारित गरेको तीन महिनापछि कम्पनीले दोस्रो बजारमा बोनस शेयर सूचीकृत गराएको हो ।
१० प्रतिशत बोनस शेयर वापत्को २६ लाख ८१ हजार ५१८ कित्ता शेयर सोमवार सूचीकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका हुन ।