काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडले ठमेलको छाया सेन्टरस्थित होटेल अलोफ्टमा एक कार्यक्रमकाबीच आईपीओ बाँडफाँट गरेको हो ।
मिडिया क्षेत्रको पहिलो कम्पनीको रूपमा धितोपत्र बजारमा भित्रिन लागेको यस कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम उपप्रधान तथा गृहमन्त्री नारायणराजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आईपीओ बाँडफाँटका लागि बलसमेत श्रेष्ठले नै तानेका थिए ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकबाट आवेदन परेको थियो । यी आवेदकहरूबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता शेयर खरीद माग भएको हो ।
कुल आवेदकहरूमध्ये १२ लाख २७ हजार ५६९ जना आवेदक मात्र योग्य भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । ७२ हजार १५८ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको हो । गोलाप्रथाको माध्यमबाट ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन् । यीमध्ये एक जना आवेदकले भने थप एक कित्तासमेत गरी ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
कम्पनीले जेठ २६ देखि ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ३६ लाख १९ हजार ८९१ कित्ता शेयर बाँडफाँट गरेको हो ।