काठमाडौं । आगामी जुन १ बाट औपचारिक क्षेत्रमा विदेशी कामदार लिन बन्द गर्ने मलेशियाको नीतिले बढ्दो श्रमशक्तिका लागि एउटा महत्त्वपूर्ण रोजगारी गन्तव्य गुम्ने स्थिति बनेको छ । मलेशिया सरकारले गत मार्चमा मेको अन्त्यसम्ममात्र विदेशी कामदारलाई मलेशिया प्रवेश गर्न दिने घोषणा गरेको थियो । त्यसको लागि भिसा लिने समय अप्रिल २१ सम्म तोकिएको छ ।
मलेशियामा नेपालसहित १५ मुलुकका कामदार जान्छन् । नेपाली पनि ठूलो संख्यामा मलेशिया जाने गरेका छन् । गत आर्थिक वर्ष (आव) २०७९/८० मा श्रमस्वीकृति लिएर विदेशिएकामध्ये सबैभन्दा बढी नेपाली मलेशिया गएको तथ्यांक छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा २ लाख ५९ हजार ५९६ नेपाली कामदार (नयाँ र पुराना) मलेशिया पुगेका थिए । चालू आव २०८०/८१ मा भने मलेशिया जाने नेपालीको संख्या घट्ने देखिएको छ । गत फागुनसम्ममा ६३ हजार ९७६ नेपाली कामदार मलेशिया पुगेका छन् । लामो समयदेखि मलेशिया नेपाली कामदारका लागि एउटा महत्त्वपूर्ण गन्तव्यका रूपमा छ ।
आप्रवासी कामदारका सम्बन्धमा मलेशिया सरकारले लिएको नयाँ नीतिको असर नेपालमा प्रत्यक्ष पर्न सक्ने देखिएको वैदेशिक रोजगार मामिलाका जानकारहरूले बताएका छन् । वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ मलेशियाको नयाँ नीतिका कारण नेपाली कामदारको एउटा प्रमुख गन्तव्य गुम्ने बताउँछन् । देशमा रोजगारी सृजना नभइरहेको सन्दर्भमा अवैध ढंगले मलेशिया जानेको संख्या बढ्न सक्ने र त्यसले थप जटिलता निम्त्याउन सक्ने खतरा उनले औंल्याए । ‘विदेशी कामदारलाई रोक लगाउँदैमा उक्त देशका कम्पनीलाई विदेशी कामदार नचाहिने भन्ने होइन । विदेशबाट पनि कामदार जान चाहने अवस्था अन्त्य हुँदैन । त्यसले अवैध ढंगले उक्त देश जानेको संख्या बढ्न सक्नेछ,’ गुरुङले भने ।
सरकारी अनुमानअनुसार नेपालमा वर्षेनि ५ लाखभन्दा बढी नयाँ श्रमशक्ति बजारमा आउँछ । वर्षेनि थपिने सबैजसो श्रमशक्ति विदेश जाने गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव ४ लाख ९७ हजार ७०४ नयाँ नेपाली कामदार काम गर्न विदेश गएका थिए । विदेशबाट नेपालमा बिदामा आई फेरि फर्कनेको संख्या २ लाख ७७ हजार २७२ थियो । यसबाट गत आव करीब ८ लाख नेपाली काम गर्नकै लागि विदेश पुगेको देखिन्छ । विद्यार्थीका रूपमा विदेशिनेको संख्या पनि ठूलो छ ।
अर्थतन्त्रको विकास राम्ररी हुन नसक्दा स्वदेशमा रोजगारीका अवसर खासै सृजना भएको छैन । विश्व बैंकको हालैको एउटा प्रतिवेदन ‘साउथ एशिया डेभलपमेन्ट अपडेट’का अनुसार विगत २३ वर्षमा नेपालमा रोजगारीको अनुपात ११ प्रतिशतले घटेको छ । काम गर्ने जनसंख्या बढ्दै गएका बेला स्वदेशमा रोजगारी सृजना गर्न नसक्दा कामको खोजीमा विदेश जाने क्रम बढेको हो ।
मलेशियाले विदेशी कामदार लिन बन्द गरे भविष्यमा त्यहाँबाट आउने विप्रेषण पनि घट्नेछ । धेरै वर्षदेखि विप्रेषण नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा छ । विश्व बैंकका अनुसार दक्षिण एशियाली मुलुकमध्ये देशको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सबैभन्दा बढी विप्रेषण नेपालले नै भित्त्याउँछ । गत आव २०७९/८० मा नेपालले १२२० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण भित्त्याएको थियो ।
‘मलेशिया जाने कामदार घटेपछि उक्त देशबाट आउने रेमिट्यान्स घट्छ । त्यसको असर नेपाली अर्थतन्त्रमा पर्न सक्छ,’ डा. गुरुङले भने । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डिल्लीराम पोखरेलले मलेशियाबाट कति विप्रषण भित्रन्छ तत्काल भन्न नसके पनि ठूलो संख्यामा नेपाली कामदार त्यहाँ रहेकाले ठूलै रकम आउने अनुमान गर्न सकिने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी मलेशियाको विदेशी कामदार नलिने नीतिले वैदेशिक रोजगारीमा ठूलो संकट निम्तिएको बताउँछन् ।
खाडी राष्ट्रमा पनि कामदारको माग कम हुँदा त्यसको असर नेपालमा देखिने क्रममा रहेको उनले बताए । भण्डारी यूरोपेलीलगायत अन्य देशमा कामदार पठाउन सरकारले सहजीकरण गर्नुपर्ने बेला आएको बताउँछन् । ‘मलेशिया बन्द भएपछि नेपाली कामदारको माग भएका यूरोपेलीलगायत अन्य देशमा कामदार पठाउन सरकारले सहजीकरण गर्नुपर्छ,’ उनले भने ।
खाडी र मलेशिया जाने कामदारले त रेमिट्यान्स पनि पठाउँछन्, फर्केर आएर देशभित्रै काम गर्छन् । विकसित मुलक जानेहरू सामान्यतया नफर्किने र देशभित्रको सम्पत्ति पनि सकेसम्म लिएरै जाने प्रवृत्ति छ ।
त्यसैले खाडी र मलेशियाको रोजगारी नेपालको लागि महत्त्वपूर्ण रहेको गुरुङले बताए । श्रमविज्ञ गुरुङका अनुसार अब सरकारले स्वदेशमै रोजगारी पाउने अवस्था बनाउनुपर्छ । कति समयमा कति रोजगारी सृजना गर्ने हो, त्यसबारे गृहकार्य गर्न जरुरी छ । तर, देशमा राजनीतिक अस्थिरता र लगानीको वातावरण राम्रो नभएका कारण रोजगारी सृजना भइरहेको छैन । यसले गर्दा विदेश जाने क्रम बढ्दो छ ।
तर, नेपाली कामदारका नियमित गन्तव्य मुलुकहरू बन्द हुँदै जाने हो भने उनीहरू जोखिमयुक्त ठाउँमा काम गर्न जाने प्रवृत्ति बढ्ने जोखिम रहने सरोकारवाला बताउँछन् । ‘अहिले अवैध रूपमा विभिन्न देश जाने क्रम बढेको छ,’ भण्डारीले भने, ‘रूस र युक्रेनमा गएर नेपालीहरू मर्न तयार भएका छन् ।’
श्रम मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले भने मलेशियाले कामदार नलिनेबारे औपचारिक जानकारी नआए पनि अनौपचारिक रूपमा आएका सूचनाहरूलाई आधार मान्दै मन्त्रालयले कूटनीतिक माध्यमबाट जानकारी लिने तयारी गरेको बताए । ‘अब के गर्ने भन्नेबारे हामीलाई रिपोर्टिङ भएपछि मन्त्रालयले आवश्यक निर्णय लिनेछ,’ उनले भने ।
अहिले ५ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा रहेको वैदेशिक रोजगार विभागको अनुमान छ । यो संख्या वैधानिक रूपमा श्रमस्वीकृति लिएर मलेशिया गएकाहरूको हो । अवैध रूपमा बसेका र अन्य तरीकाबाट कार्यरतको संख्या पनि धेरै नै छ । आव २०७९/८० मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ४४ प्रतिशत मलेशिया पुगेको वैदेशिक रोजगार विभागका एक उच्च अधिकारीले जानकारी दिए । कोभिड–१९ महामारीको समयमा २ वर्ष मलेशियाले विदेशी श्रमिक लिन छाडेको थियो ।
गत जेठमा सरकारले मलेशिया जाने नेपाली श्रमिकमाथि आर्थिक ठगी गरेको भन्दै उक्त प्रक्रियामा संलग्न संस्थाहरूलाई अवैधानिक ठहर गरी तिनका कामकारबाही बन्द गरिदिएको थियो । बायोमेट्रिक, भिएलएन, वानस्टप सेन्टर, ओएसी, जिसिसी र माइग्रालगायत संस्था खारेजीमा परेका थिए । यसबाट मलेशिया जान नेपाली कामदारलाई अप्ठ्यारो भएको थियो ।