वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव)को ९ महिनामा रु ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए ।
कार्यालयले साउन रु ३ अर्ब ७५ करोड, भदौमा रु ४ अर्ब ६४ करोड, असोजमा रु ४ अर्ब ३६ करोड, कात्तिकमा रु ३ अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै मङ्सिरमा रु ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा रु ४ अर्ब २९ करोड, फागुनमा रु ४ अर्ब ६८ करोड र चैतमा रु ४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । रासस