काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा उभिन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसद्लाई निर्देशन दिइएको छ ।
शनिवार बसेको दुवै पार्टीका संसदीय दलको बैठकले सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्न सांसद्लाई निर्देशन दिएको हो ।
शनिवार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमलाई सर्मथन गर्ने र नीति तथा कार्यक्रमका पक्षमा रचनात्मक सुझावसहित बोल्न सांसद्लाई निर्देशन दिने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो। नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएका छन्, जुन राष्ट्रिय आवश्यकताहरू हुन्,’ उनले भने, ‘ती कार्यक्रमहरू हामीले पनि चाहेका कुराहरूलाई समेटिएर आएका हुनाले त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने समर्थन गर्ने निर्णय भएको छ ।’
बैठकमा संसद्मा पेस भएको नीति तथा कार्यक्रम अनुसारै बजेट बनाउनुपर्ने समेत निर्णय गरेको छ । घिमिरेले यसबारे भने, ‘नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ, अगामी बजेट तर्जुमा गर्दाखेरी नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौं ।’
त्यस्तै, शनिवार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्लाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गर्नुभयो । ‘हाम्रा नीतिहरू सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नु पर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौं,’ ओलीले भन्नुभयो ।