चैत ८, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सन् २०१७ का लागि विश्वका अर्वपतिहरूको सूची सार्वजनिक गरेको छ । सूचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि समावेश छन् । चौधरी ग्रूपका अध्यक्ष विश्वका अर्वपतिहरूको सूचीमा १ हजार ५ सय ६७औं स्थानमा छन् । फोर्ब्सका अनुसार उनीसँग १ अर्ब ३० करोड डलरबराबरको सम्पत्ति रहेको छ । उनको सम्पत्ति अघिल्लो वर्षको तुलनामा २० करोड डलरले बढेको हो । सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलोपटक २०१३ मा विश्वका अर्वपतिहरूको सूचीमा परेका थिए ।
२ हजार ४६ जना समावेश भएको यो वर्ष अर्वपतिहरूको सूचीको शीर्ष स्थानमा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक विल गेट्स रहेका छन् । उनीसँग ८६ अर्ब डलर रहेको फोर्ब्सले बताएको छ । गेट्स सूचीको शीर्ष स्थानमा लगातार चौथो वर्षमा आएका हुन् । विगत २३ वर्षमा गेट्स १८ पटक पहिलो स्थानमा आएका हुन् ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति भने कम भएको छ र उनको स्थान धनाढ्यको सूचीमा २ सय स्थानभन्दा बढीले घटेको छ । त्यस्तै ७५ अर्ब ६० करोड डलरबराबरको सम्पत्ति भएका अमेरिकी व्यवसायी तथा अमेरिकी कङ्ग्लोमेरेट कम्पनी बर्कशायर हाथ्वेका प्रमुख कार्यकारी अधिकारी वारेन बफेट विश्वकै दोस्रो धनाढ्य बनेका छन् । त्यस्तै सामाजिक सञ्जाल फेसबूकका संस्थापक मार्क जुकरवर्ग सूचीको पाँचौं स्थानमा आएका छन् ।
गतवर्षको तुलनामा यो वर्ष विश्वमा अर्वपतिको जनसङ्ख्या १३ प्रतिशतले बढेर २ हजार ४३ जनाको कीर्तिमानी उचाइमा पुगेको तथ्याङ्क छ । यसमध्ये ५ सय ६५ जना धनाढ्य अमेरिकी रहेको पाइएको छ । त्यस्तै चीनमा ३ सय १९ जना अर्बपति रहेका छन् भने जर्मनीमा १ सय १४ जना अर्वपति रहेको पाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको सम्पत्ति गतवर्षको तुलनामा १ अर्ब डलरले घटेको छ भने उनी २ सय २० स्थान तल झरेर विश्वव्यापी धनाढ्यको सूचीमा ५ सय ४४ स्थानमा आइपुगेका छन् । त्यस्तै सूचीमा २ सय २७ जना महिला धनाढ्य रहेको पाइएको छ । फोब्र्सको सूचीमा १ सय १ जना भारतीय धनाढ्य परेका छन् । यसमध्ये २३ अर्ब २ करोड डलर सम्पत्तिसहित मुकेश अम्बानी सर्वाधिक धनी भारतीय बनेका छन् । एजेन्सीहरू