भद्रपुर । यातायात व्यवस्था कार्यालय झापाले चालू आर्थिक वर्ष (आव) ०८१/८२ को ९ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार ४०२ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार ११६ राजस्व सङ्कलन गरेको हो ।
चालु आवको चैत महिनासम्म सवारीसाधनको कर सङ्कलनवापत रु ६९ करोड ६ लाख २२ हजार ५४२, यातायात क्षेत्रको आम्दानीवापत रु ९६ लाख ६० हजार ६६७, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत रु १२ करोड १२ लाख ८९ हजार ६५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
चालू आवको ९ महिनामा जिल्लामा ९ हजार ९५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव ०८०/८१ को अन्त्यसम्ममा जिल्लामा २ लाख ६ हजार ८८४ सवारीसाधन दर्ता रहेका थिए ।
कार्यालय प्रमुख सापकोटाका अनुसार चालू आवको ९ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल ३ हजार २३६ दर्ता भएका छन् । यसैगरी ई–रिक्सा २ हजार ५४९, स्कुटर २ हजार ३४५, ई–स्कुटर ५७९, कार १८०, ट्र्याक्टर १७६, जिप १६८, बस १०८, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९ र एम्बुलेन्स ४ वटा नयाँ दर्ता भएका छन् । रासस