काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष (आव) ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । असार ४ गते अपराह्न ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न बोनस शेयरमा जोड दिएको हो । गत वर्ष कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।