लन्डन (बेलायत) । यूरोपमा टेस्लाको गाडी विक्री गत महीना ५० प्रतिशतले घटेको छ । यूरोपको ३२ देशका तथ्यांकअनुसार अप्रिलमा टेस्लाले ७ हजार २६१ युनिट गाडी विक्री गर्यो । गतवर्षको सोही अवधिमा युरोपमा कम्पनीका गाडी १४ हजार २८ भन्दा युनिट विक्री भएका थिए ।
सोही अवधिमा अन्य कम्पनीका विद्युतीय गाडीको विक्री भने २८ प्रतिशतले वृद्धि भएको छ । यूरोपेली अटोमोबाइल निर्माता संघ (एसीईए)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार डिजेल र पेट्रोल चल्ने गाडीको विक्रीमा कमी आएको छ ।
टेस्लाका प्रमुख कार्यकारी एलन मस्कका अतिवादी राजनीतिक धारणा र अभिव्यक्तिको विरोधका साथै बहिष्कारले कम्पनीको गाडी विक्रीमा असर परेको छ । साथै कम्पनीको पुरानो मोडेल लाइनअप र चीनका सस्ता विद्युतीय गाडीहरूसँगको प्रतिस्पर्धाले पनि टेस्ला दबाब परेको देखिन्छ ।
यसै महीनाको शुरूमा स्विडेन, नेदरल्यान्ड्स र डेनमार्कबाट आएको प्रारम्भिक तथ्यांकले पनि टेस्लाको विक्रीमा ह्रास आएको देखाएको थियो ।
यता, चिनियाँ कम्पनी एसएआईसी मोटरको यूरोपमा अप्रिल महीनाको विक्री ५४ प्रतिशतले बढेको छ । यस कम्पनीको बेलायतस्थित ब्रान्ड एमजीले कम मूल्यका विद्युतीय गाडी उत्पादन गर्दै आएको छ । टेस्लाले यस वर्ष आफ्नो सबैभन्दा बढी विक्री हुने मोडल ‘वाई’ अपग्रेड गर्न केही हप्ता उत्पादन स्थगन गरेको थियो, जसले आपूर्ति कम गराएको छ ।
यो वर्षको पहिलो चार महीनामा युरोपेली बजारमा टेस्लाको विक्री करीब ३९ प्रतिशतले घटेर ६१ हजार ३२० युनिटमा झरेको छ, जबकि समग्र अटो बजार भने स्थिर देखिएको छ । एपी/रासस