काठमाडौं । देशको विदेशी विनिमय सञ्चिति रु २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तसम्मको तुलनामा २३.१ प्रतिशतले बढी हो ।
गत असार मसान्तसम्ममा देशको कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।
अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०.५ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेको यस्तो सञ्चिति गत वैशाख मसान्तमा १८ अर्ब ४० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु. १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई रु. २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु. १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ०१ अर्ब ८३ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को १० महीनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महीनाको वस्तु आयात र १४.६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।
स्रोत : नेपाल राष्ट्र बैंक ।