काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ५७ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रकम व्यवस्था गर्दा इन्फिनिटी लघुवित्तको खुद नाफा करिब ९९ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले इम्पेरमेन्ट चार्ज वापत्को १ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाएको थियो । गत वर्ष यस अवधिसम्म ५ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ९ लाख ४४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको हो । यस अवधिसम्म कम्पनीको विरतणयोग्य नाफा भने १ करोड ६९ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी २८ दशमलव १९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी साढे १६ प्रतिशत कम भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ छ भने जगेडा कोष रकम १७ करोड ७ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस अवधिसम्म कम्पनीले ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १४ दशमलव ३५ प्रतिशत पुगेको छ । वार्षिक १८ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नटवर्थ भने १३७ रुपैयाँ ७४ पैसा छ ।