काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ ।
गत आर्थिक वर्ष (आव)को यस अवधिसम्म ३ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस आवमा भने नाफामा रहेको हो । गत आवको तुलनामा यस आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेको र अन्य आम्दानी पनि भएकाले खुद नाफामा रहन सफल भएको हो ।
गत आवमा ५३ करोड ७२ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस आवमा ५५ करोड १० लाख रुपैयाँभन्दा बढी उक्त आम्दानी गरेको हो ।
अन्य आम्दानी भने गत आवमा नभएकोमा यस आवमा २२ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ छ भने शेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँभन्दा बढी छ ।
कम्पनीको मध्यकालीन कर्जा भने ३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ९९ पैसा छ ।