काठमाडौं । पछिल्ला पाँच कारोबार दिनयता घटेको नेप्से परिसूचक मंगलवार (आज) स्थिर रहेको छ ।
अघिल्लो दिन २ हजार ६१०.४० अंकमा बन्द भएको नेप्से २ हजार ६११.४३ अंकमा बन्द भएको छ । यसअघिका गत सोमवारयता नेप्से घटेको थियो ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ लगायत कारणले लगानीकर्ता बजारप्रति विश्वस्त हुन सकेका छैनन् । यही कारण उनीहरूमा अन्योल सिर्जना हुँदा बजार माथि जान नसकेको जानकार बताउँछन् ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ७ अर्ब ६३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ८ अर्ब ७४ करोडको कारोबार भएको छ। जुन अघिल्लो दिनभन्दा १ अर्ब ११ करोड रुपैयाँ बढी हो ।
शेयर कारोबारका आधारमा आज नेप्सेमा लामो टुप्पी र सानो शरीर भएको हरियो मैनबत्ती आकृति बनेको छ । यसले बजार माथि जान खाेजे पनि नसकेको भन्ने संकेत गर्छ । साथै यो आकृतिले आगामी दिनमा बजारको दिशा परिवर्तन हुन सक्ने सम्भावना देखाउँछ ।
यसदिन १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ ओटाको घटेको छ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
यसैगरी, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता दुई हजार ५५१ रुपैयाँ १० पैसामा झरेको छ।
आज सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये ५ ओटाको परिसूचक बढेको छ भने बाँकी ८ ओटाको घटेको छ। यसदिन व्यापारिक समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ। यस्तै, अन्य समूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशतले घटेको छ।