logo
आजदेखि ट्रेड टावरको पहिलो चरणको आईपीओ निष्कासनमा
आजदेखि ट्रेड टावरको पहिलो चरणको आईपीओ निष्कासनमा

काठमाडौं । ट्रेड टावर लिमिटेडले  वैशाख ८ गते आजदेखि  पहिलो चरणको आईपीओ निष्कासनमा ल्याएको छ  । कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासनमा ल्याएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्तामध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा वैशाख २२ गतेसम्म आईपीओ निष्कासन गर्न लागिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन । साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग  प्रदान गरेको छ । कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीमा ट्रेड टावर रहेको छ । कम्पनीले ललितपुरमा भैसेपाटीमा १९० ओटा अपार्टमेन्ट निर्माण तथा विक्री गरी दोस्रो परियोजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ छ । गत आर्थिक वर्षसम्म ४ करोड ८२ लाख रुपैयाँसम्म सञ्चित नाफामा रहेको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने १२३ रुपैयाँ ९ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.