पुस ५, साङ्हाई (चीन) । आप्रवासीको बसोबासका लागि चीनको साङ्हाई एशियाकै सबैभन्दा महँगो शहर बनेको एक सर्वेक्षणले देखाएको छ । विश्वव्यापी परामर्शदाता संस्था ईसीए इण्टरनेशनलले गरेको सर्वेक्षणमा यस्तो पाइएको हो । संस्थाले आप्रवासीको बसोबासका लागि एशिया प्रशान्तका सबैभन्दा महँगो शहरको सर्वेक्षण गरेको थियो । सो सूचीमा साङ्हाई शीर्ष स्थानमा छ भने उसलाई पछ्याउँदै पेइचिङ, हङकङ, सोल र टोकियो आइपुगेका छन् । गतवर्ष सो सूचीमा साङ्हाई तेस्रो स्थानमा थियो भने गतवर्ष सूचीको चौथो स्थानमा रहेको पेइचिङ यो वर्ष भने दोस्रो स्थानमा आएको छ ।
त्यस्तै गतवर्ष शीर्ष स्थानमा रहेको सोल यो वर्ष भने चौथो स्थानमा झरेको छ । शीर्ष २० ओटा शहरमध्ये ११ ओटा चिनियाँ शहर रहेको पाइएको छ । अन्य मुद्राको तुलनामा चिनियाँ मुद्राको भाउमा भएको वृद्घिका कारण चिनियाँ शहर महँगो पर्न गएको हो । चिनियाँ शहरमा बस्ने आप्रवासीको खर्च थप बढ्ने ईसीएले अगाडि बताएको छ । यसैक्रममा विश्वभरिका ३० ओटा सबैभन्दा महँगो शहरको सूचीमा चिनियाँ शहरले पाँच भागको एक भाग ओगट्ने बताइएको छ । यो वर्ष विश्वकै सबैभन्दा महँगो ३० शहरको सूचीमा स्वीट्जरल्याण्डको जुरिख शीर्ष स्थानमा रहन सफल भएको छ । एजेन्सी