काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ५५ लघुवित्त वित्तीय संस्थामध्ये आठ लघुवित्त कम्पनीको साधारण सभा हुन अझै हुन सकेको छैन ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था,एनएमबि लघुवित्त वित्तीय संस्था,आशा लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था,अभियान लघुवित्त वित्तीय संस्था ,समाज लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको हो ।
चालु आर्थिक वर्षको ९ महीना अवधिमा सकिदा पनि कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को साधारण सभा आह्वान गर्न सकेका छैनन् । ४७ कम्पनीले भने हालसम्म साधारण सभा सम्पन्न गरेका छन् । नियामकीय प्रावधानअनुसार सामान्यतय सूचीकृत कम्पनीले चालु आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तसम्म सूचीकृत कम्पनीले अघिल्लो वर्षको साधारण सभा गर्नुपर्छ । तर, समय घर्किएको ३ महिना बित्दा पनि ठूलो संख्यामा सूचीकृत कम्पनीहरुले साधारण सभा गर्न सकेका छैनन ।
निर्धारित समयमै साधारण सभा नगर्दा लाभांश वितरण समय पनि निकै पछि धकेलिएको छ । साधारण सभाबाट पारित गरेपछि मात्रै लाभांश वितरण प्रक्रिया शुरू हुन्छ । लाभांश दिन लागेका कम्पनीका शेयरधनीले लाभांश पाउन लामो समय कुर्नु पर्ने भएको छ । यस अवधिमा बाणिज्य बैंकहरुमध्ये प्रभु बैंक बाहेक सबै बाणिज्य बैंकको साधारण सभा सम्पन्न भइसकेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूह, होटल तथा पर्यटन समूह र वित्त समूहका सबै कम्पनीहरुले साधारण सभा सम्पन्न गरेका छन । अन्य सेक्टरका कम्पनीहरुको भने साधारण सभा हुन बाँकी छ ।
साधारण सभा हुन बाँकी रहेका कम्पनीहरुमध्ये सूर्योदय वोमी लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव ०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै एनएमबि लघुवित्त , नेष्डो समृद्ध लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेका छन् भने समाज लघुवित्त , विजय लघुवित्त र श्रृजनशिल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण र साधारण सभा सम्बन्धी निर्णय हालसम्म गर्न सकेको छैनन ।