नेपाल नामक जुन हाम्रो देश छ नि, खासमा त्यसको नाम बैठक हुनुपर्ने हो । यहाँ प्रत्येक कुरामा, हरेक समस्यामा बैठक बस्छन् । गरीबको चुलोमा आगो बाल्ने कुरा होस् कि मन्दिरको छत टाल्ने, पानीको धारो हाल्ने कुरा होस् कि विकासको गारो लाउने वा सरकारको काममा तगारो हाल्ने, सबै बैठकबाटै सम्पन्न हुन्छन् । व्यवस्थापनका बाजे पिटर ड्रकरले ‘काम नगर्ने मान्छे बैठक बढी बोलाउँछ’ भनेर नेपाललाई गिज्याएको चाहिँ हैन । नेपालमा त विनाबैठक हावा पनि चल्दैन ।
पहिले पहिले मान्छेलाई केही समस्या पर्यो कि धामी, झाँक्री, झारफुकतिर लाग्थे, अचेल बैठकतिर । बैठक कहिले बालुवाटारमा बस्छ, कहिले खुमलटारमा, कहिले सिंहदरबारमा त कहिले बुढानीलकण्ठ दरबारमा । तरबारको विषयमा होस् कि घरबारको, मालीको विषयमा होस् या सालीको जहाँ जे भए पनि, जे गरे पनि बैठक चैं बस्छ, बस्छ । यहाँसम्म कि देशको संविधान लेख्ने, जारी गर्ने र सत्ता परिवर्तन काम पनि बैठकबाटै सम्पन्न गरिन्छन् ।
अनि यो बैठक जहाँ जुन जुन विषयमा बस्नुपर्ने हो, त्यसका लागि बस्दैन, जुन कुरामा बैठक नबसे पनि हुने हो, त्यहाँ चाहिँ नबसी छाड्दैन । संसद्मा बैठक नै बस्दैन, बस्यो कि नाराबाजी र घेराबाजी नभए नियमापत्ति भइहाल्छ । अब कानून बनाउने ठाउँमा नुनको सोझो गर्नेमात्रै भएपछि बैठक किन पो बस्नुपर्यो र ? काम गर्नुपर्ने कार्यकारिणी भनिने सरकार चाहिँ बैठक बसेको बस्यै । कानून पनि आफै बनाएको बनायै ।
देशमा अहिले एक प्रकारले आर्थिक मन्दी चलिरहेको छ । यसमा सरकार गम्भीर देखिन्छ । सरकार त सधैं गम्भीर नै हो, देश भीरबाट नखसेसम्म पनि सरकार त गम्भीर गम्भीर नै रहन्छ । यसरी देशमा आर्थिक मन्दी भएकैले सरकारले सानो बैठकले भएन भनेर यसै हप्ता एउटा ठूलो बैठक डाक्यो । अब बैठकै त कसरी भन्नु ? त्यसैले उसले नाम दियो– लगानी सम्मेलन २०२४ । अनि मन्दी भगाउने नयाँ सूत्र पत्ता लगायो– लगानी सम्मेलन लेखेको सेल्फी स्पट । अब सबैले त्यहाँ उभिएर फोटो खिचेपिछि मन्दी त छुमन्तर ।
पहिले पहिले मान्छेलाई केही समस्या पर्यो कि धामी, झाँक्री, झारफुकतिर लाग्थे, अचेल बैठकतिर । बैठक कहिले बालुवाटारमा बस्छ, कहिले खुमलटारमा, कहिले सिंहदरबारमा त कहिले बुढानीलकण्ठ दरबारमा । तरबारको विषयमा होस् कि घरबारको, मालीको विषयमा होस् या सालीको जहाँ जे भए पनि, जे गरे पनि बैठक चैं बस्छ, बस्छ ।
नाम जे दिए पनि त्यो एउटा ठूलो बैठक थियो । भलै त्यो बैठकको उद्देश्य विदेशी लगानी देशमा भित्त्याउने थियो क्यारे ! अर्थात् सम्मेलनबाटै समृद्धि । तर लगानी चाहिँ कति आयो कुन्नि, विदेशी चाहिँ टन्नै आए । लगानी चाहिँ कति गरे तपाईंलाई नै थाहै छ, तर गाली चाहिँ राम्रै गरेछन् । तर जति विदेशी सो बैठकमा आए, त्योभन्दा बढी त लगानीसम्बन्धी गोरु बेचेको साइनोसमेत नभएका देशीहरू अर्थात् स्वदेशीको उपस्थिति देखिन्थ्यो । कसैले नबोलाए पनि आफ्नो अधिकार नै ठानेर सित्तैमा लन्च, डिनर र दारुका लागि लागेका खासगरी पत्रकारको आवरणमा आउनेहरूको लाइन लगानी गर्न आउनेभन्दा धेरै नै लामो थियो । खर्बको गफ दिएर अर्ब आउने भएपछि त्यहाँ भएको केही करोडको खर्चको कुरा के गर्नु ?
अझ बैठकमा प्रस्तुत गरिएका विषय र वक्ताहरूको तालमाल देख्दा यस्तो लाग्थ्यो, मानौं त्यो विदेशीलाई लगानीका लागि प्रेरित गर्ने भन्दा पनि स्वदेशीहरूका लागि बुद्धिविलास र सेल्फी फोटा खिच्नकै लागि राखिएको थियो । धन्न मस्क, अडानी र अम्बानी आएनन् । नत्र उनीहरूसँग फोटो खिच्नेको अडान कति हुन्थ्यो होला ? खैर जे भए पनि सरकारले लगानीका लागि एउटा ठूलो बैठक ‘सफलतापूर्वक सम्पन्न’ गर्यो र यस्ता बैठक सरकारले हरेक वर्ष गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।
यता, हरेक दिनजसो देशभरिका अनेक समस्या पीडित नेपालीहरू प्राय: मन्त्री वा प्रधानमन्त्रीकोमा बैठककै लागि गएका गयै छन् । दिनकै सयौं यस्ता सानातिना बैठक भएकै छन् । जागीर माग्ने, महँगी बढ्यो घटाइदिनुस् भन्ने राग अलाप्ने, व्यवसाय गर्न तगाराहरू हटाउन माग राख्ने सबै मानिशहरू मन्त्री, मुख्यमन्त्रीकहाँ पुग्छन् । मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीले पनि कसैलाई पनि हुन्न, सकिन्न भन्दैनन् । तर मानिशहरू मन्त्रीहरूकहाँ धाउँदा धाउँदा हैरान हुन्छन् र अनि धाउन छाड्छन् । यसरी ती उठेका समस्याहरू आफै सुत्छन् अर्थात् समस्याहरू आफै सुल्झन्छन् । यसमा प्रशासकीय कदमको कुनै आवश्यकता रहँदैन । यहाँ बजारको नियम र अर्थशास्त्रको दर्शनको पनि कुनै अर्थ हुन्न ।
तर यता बजारका समस्या हजार छन् । किन्ने मान्छे आउन्नन्, हेर्नेको भीड छ । सरकार वासलात हेर्दैन । भीड हेरेर बजार चलेको देख्छ । त्यसैले ऊ कसरी धेरै कर उसुल्ने भन्ने ध्याउन्नमा छ । व्यापार मरेको, व्यवसाय सुकेको देख्दैन, मारामार र मालामाल भएको मात्रै देख्छ । वस्तु तथा सेवाको विक्री ठप्प छ । देशभरिका आधाजसो सटर बन्द छन् । खुलेका पनि आधाजसो मात्रै चलेजस्ता छन् । रेष्टुराँमा खान जाने ग्राहक धेरै घटेका छन् । निर्माण सामग्रीको भाउ ५ वर्षअघिको मूल्यभन्दा झन्डै २५–३० प्रतिशतले घटेको छ । हिजो जग्गा जमीन किन्न पाइन्नथ्यो वा सकिन्नथ्यो । आज किन्नेहरू छैनन् । अब त मूल्य धेरै घटाएर दिन्छु भन्दा समेत किन्ने भेटिरहेका छैनन् । स्थिति यस्तोसम्म छ कि कत्तिले ‘यत्ति सस्तोमा पनि जग्गा बेच्ने’ भनेर किन्नेले नै भन्ने गरेको पनि सुनिन्छ । बैंकमा ऋण लिने मान्छे छैनन्, बीमामा सरेन्डर गर्नेको ताँती छ । यसरी सबै क्षेत्रको हालत करीब करीब उस्तै उस्तै छ । मानिशहरू निकै ठूलो तनावमा छन् । तर नआत्तिनुस् । सरकार गम्भीर छ र बैठकहरू बसेको बस्यै छ । स्थानीय, प्रदेश र राष्ट्रिय तहको बैठकले नभए अन्तरराष्ट्रिय बैठक बसाल्ने कुरा छ ।
हुन त बजार र समय सधैं एकैनाश रहिरहन्नन् । कुनै दिन त समय फेरिन्छ नै । बजार फेरि आफ्नो लयमा बौरिन्छ है ! त्यसैले चिन्ता गर्न छाड्नुस् । किनकि, बालुवाटार र सिंहदरबारमा बैठकहरू चलिरहेकै छन् । यसरी देशमा विकासे बैठकहरू हुन छाड्नेछैनन् । उपचुनाव, गठबन्धन, अख्तियार, फाइल, भत्ता, विदेश भ्रमण, नियुक्ति, भाइभतिजा, आफ्नो मान्छे, दल, दलबदल, बैठक अनि फेरि बैठक । त्यसैले खुशी हुनुस् । किनकि समृद्धि र विकासका लागि बैठकहरू जारी नै छन् है ! व्यापार बन्द छ, बैठक गरौं । ऋण उठेन बैठक बसौं ।
अब देशमा जे विकास हुन्छ केवल बैठकबाटै त हुन्छ । आउनुस्, हामी पनि एउटा बैठक बसौं र नयाँ कुराको विकास गरौं । बसेरै कसेर ठग्ने पेशा अर्थात् बैठगलाई मिशनकै रूपमा अघि बढाऔं ।