काठमाडौं । टेक एण्ड पे पीपीएसम्बन्धी प्रावधान हटाउने सम्बन्धमा अर्थमन्त्री सकारात्मक नभएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत रन अफ रिभरका जलविद्युत आयोजनाको टेक एण्ड पे (लिऊ र तिर) मोडलमा पीपीए गर्ने घोषणा गरेपछि यसले जलविद्युत आयोजनाको अर्बौं रुपैयाँकाे लगानी डुब्ने अवस्थामा पुगेको भन्दै उक्त प्रावधान संशोधनको माग राखी इप्पानले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
बजेट घोषणा भएदेखि नै इप्पानले उक्त घोषणाको विरोध गर्दै आइरहेको छ ।
सरकारको उक्त प्रावधानले जलविद्युत आयोजनामा बैंकले लगानी नगर्ने अवस्था सिर्जना हुने र यसबाट निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० भन्दा बढी आयोजनामा गरिएको ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी डुब्ने अवस्था आएको इप्पानको दाबी छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
आन्दोलनअन्तर्गत इप्पानले यही असार ६ गते (भोलि) फेरि प्रधानमन्त्री, ऊर्जामन्त्री र अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । यस्तै, असार ७ गते प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई एसएमएस पठाएर टेक एण्ड पे फिर्ता लिन अनुरोध गर्ने, असार ८ गते सामाजिक सञ्जालमा टेक एण्ड पे पीपीए नीति फिर्ता लेउ भन्दै सन्देश लेख्ने कार्यक्रम बनाइएको छ ।
यसैगरी, असार ९ गते टेक एण्ड पे को असरका वारे निजी क्षेत्रका विभिन्न संघसंगठनहरुसँग छलफल गरी संयुक्त धारणा सार्वजनिक गर्ने र असार १० गते प्रतिनिधि सभाका सभामुख र प्रमुख सचेतकहरुलाई टेक एण्ड पे फिर्ता लिनको लागि सामूहिकरूपमा एसएमएस पठाउने कार्यक्रम तय गरिएको इप्पानका कार्यबाहक अध्यक्ष मोहनकुमार डाँगीले बताए ।
प्रतिनीधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित हुँदासम्म टेक एण्ड पे पीपीए नहटाएमा दोस्रो र तेस्रो चरणमा आयोजनाको चाबी सरकारलाई बुझाउनेसम्मको कार्यक्रम गरिने डाँगीले बताए ।