काठमाडौं । उद्योग संगठन मोरङले हाल दैनिक कैयौंपटक भईरहेको विद्युत् कटौतीका कारण प्रताडित भएकाले यसमा संवेदनशील हुन नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् । वर्षा शुरु भएसँगै विद्युत् उत्पादन बढ्ने र विद्युत् आपूर्ति निरन्तर हुने आश्वासन प्राधिकरणले दिएको भए पनि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरूले दैनिक कैयौंपटक भईरहेको विद्युत कटौतीबाट पीडित भएको बताएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नेपालमा उत्पादन हुने विद्युत भारत र बंगलादेश निर्यात गर्ने प्राधिकरणले स्वदेशी उद्योग व्यवसायलाई भने विद्युत कटौती गरेर मारमा पारेको बताए । प्राधिकरणले दैनिक गर्ने विद्युत कटौतीले उद्योगको मिल मेशिनेरी बिग्रेको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकले काम गर्न नपाइ त्यसै बस्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागतसमेत बढेको करिडोरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । संगठनका अध्यक्ष राठीले यसबारे प्राधिकरणलाई बारम्बार जानकारी गराए पनि समस्या समाधान गर्न कुनै पहल नगरेकोमा चिन्ता व्यक्त गरे ।
उनले वर्षा शुरु भएसँगै औद्योगिक करिडोरमा निरन्तर विद्युत आपूर्ति हुने आशामा रहेका उद्योगी व्यवसायीको अपेक्षाविपरीत हाल दैनिक भईरहेको विद्युत कटौतीले निराश बनाएको बताए । उनले सुक्खायाममा विद्युत् अभाव र वर्षायाममा विद्युत कटौती हुँदा उद्योगहरूले ठूलो आर्थिक नोक्सानी बेर्होर्नु परिरहेको भन्दै विद्युत आपूर्तिको समस्या दीर्घकालीन रुपमा समाधानबारे संवेदनशील हुन विद्युत प्राधिकरणलाई आग्रह गरे ।
अध्यक्ष राठीले विद्युत कटौती हुँदा उद्योग व्यवसायले भोग्नु परेको आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भनि प्रश्न गरे । साथै उनले हाल देखिएको कटौती हटाउन र आगामी सुक्खायाममा आउन सक्ने विद्युत अभावलाई सम्बोधन गर्न अहिलेदेखि योजना बनाउनसमेत प्राधिकरणसँग आग्रह गरेका छन् ।