काठमाडौं । बुधवार नेप्से परिसूचक स्थिर बनेको छ । यसअघि आइतवार पनि नेप्से स्थिर बनेको थियो । त्यसपछिको कारोबारमा सोमवार २ दशमलव ८० अंक बढेको नेप्से मंगलवार भने ३ दशमलव ९० अंक घटेको थियो ।
बुधवार २ हजार ६६२ दशमलव ६९ विन्दुसम्म पुगेको नेप्से २ हजार ६४९ दशमलव ७८ विन्दुसम्म झरेको थियो । मंगलवारको तुलनामा १ दशमलव शून्य ७ अंकले मात्र घटेर नेप्से परिसूचक २ हजार ६५३ दशमलव ६८ विन्दुमा बन्द भएको हो । पछिल्लो दिनको कारोबारलाई हेर्दा बजारमा लगानीकर्ता अन्योलमा रहेको देखिन्छ ।
बजार न बढ्न सकेको छ न घट्न । ब्रोकरहरूले यतिबेला लगानीकर्ताहरू अन्योलको अवस्थामा रहेकाले बजारमा माग सिर्जना हुन नसकेको बताउँछन् ।
बुधवार ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन बोटलर्स नेपाल बालाजुको शेयर मूल्य भने स्थिर रहेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ७०० रुपैयाँ कायम भएको हो ।
स्थिर बनेको बजारमा तीन कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । पियोर इनर्जीको शेयर मूल्य १० प्रतिशत बढ्दा जोशी हाइड्रोको ९ दशमलव ९० प्रतिशत र युनियन हाइड्रोपावरको ९ दशमलव २२ प्रतिशत मूल्य बढेको छ ।
पियोर इनर्जीको शेयर मूल्य प्रतिकित्ता १०९ रुपैयाँ ७० पैसा बढेर अन्तिम मूल्य १ हजार २०७ रुपैयाँ २० पैसा कायम हुँदा जोशी हाइड्रोपावरको प्रतिकित्ता ४० रुपैयाँ ६२ पैसा बढेर अन्तिम मूल्य ४५० रुपैयाँ ७३ पैसा कायम भएको छ ।
युनियन हाइड्रोको शेयर मूल्य भने प्रतिकित्ता ३८ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य ४५१ रुपैयाँ ५० पैसा कायम भएको छ । यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत घटेको छ । प्रतिकित्ता २६७ रुपैयाँ ७२ पैसाले घटेर कर्पोरेट डेभलपमेन्ट बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता २ हजार ४०९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
मंगलवारको तुलनामा बुधवार कारोबार रकम भने बढेको छ । मंगलवार ७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको १ करोड ६४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार ९ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको २ करोड ३४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा यो दिन पनि सानिमा माई हाइड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ । यस कम्पनीको ७१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको १० लाख ९१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
यस कम्पनीको शेयर मूल्य भने यो दिन प्रतिकित्ता ६ रुपैयाँ ११ पैसाले घटेर अन्तिम मूल्य ६४८ रुपैयाँ १६ पैसा कायम भएको छ । यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ७४ प्रतिशत बढेको छ ।
योसँगै उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३५ प्रतिशत, अन्यको शून्य दशमलव १९ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव १४ प्रतिशत परिसूचक बढेको छ । यीबाहेक बाँकी समूहको परिसूचक घटेको अवस्थामा होटल तथा पर्यटन समूहको सर्वाधिक १ दशमलव १३ प्रतिशत घटेको छ ।
मंगलवार ४४ खर्ब २२ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण बुधवार १ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीले घटेर ४४ खर्ब २१ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कायम भएको छ ।