काठमाडौँ । प्राथमिक बजारमा आईपीओ निष्कासन तथा बाँडफाँट गरी अब पियोर इनर्जी लिमिटेडले मात्र दोस्रो बजारमा सूचीकृत गराउन बाँकी छ । कम्पनीले सर्वसाधारणमा चैत २८ गतेदेखि वैशाख २ गतेदेखि आईपीओ निष्कासन तथा बाँडफाँट गरी वैशाख ११ गते बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँटपछि कारोबारयोग्य बनाउन सूचीकरण प्रक्रिया अघि बढाइएको जानकारी कम्पनीले दिएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सहयोगमा कम्पनीले जतिसक्दो चाँडो आईपीओ सूचीकरण गर्ने तयारी गरेको हो ।
सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम भएको छ । कुल चुक्तापूँजीमा संस्थापकतर्फ ८० प्रतिशतले हुने ६४ लाख कित्ता र सर्वसाधारणतर्फ २० प्रतिशतले हुने १६ लाख कित्ता शेयर रहेको छ । कम्पनीले कुल ८० लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराउनेछ । कुल कित्ता शेयरमध्ये संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीतर्फको शेयर भने सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मिति वैशाख ११ गतेदेखि तीन वर्षसम्मका लागि लकइनमा रहनेछ । साथै सर्वसाधारणतर्फको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको शेयर पनि ६ महिनासम्मका लागि लकइनमा राख्नुपर्ने व्यवस्था छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानीय बासिन्दाहरूमा, १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूमा, २८ हजार ८०० कित्ता कर्मचारीहरुमा‚ ७२ हजार कित्ता सामूहिक लगानी कोषहरुमा र ११ लाख ९५ हजार २०० कित्ता शेयर भने आम सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणमा बाँडफाँट भएको शेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा मूल्य तोक्नेछ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४५ पैसा रहेको कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम प्रतिकित्ता २८९ रुपैयाँ ३५ पैसासम्मको मूल्य रेञ्ज पाउनेछ देखिन्छ ।
यो कम्पनी सौर्य ऊर्जा उत्पादक कम्पनी हो । यस कम्पनीले दुई सौर्य विद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । १० मेगावाट क्षमताको सौर्य पी.भी विद्युत आयोजना ब्लक–१ बाट २०८० पुस ११ गतेदेखि र १० मेगावाट सौर्य पी.भी विद्युत आयोजना ब्लक –२ बाट २०८० साल वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरू गरिएको हो ।