नुवाकोट । चिनियाँ जनताको सहयोगमा सञ्चालित ‘वाइब्रेन्ट भिलेज’ परियोजनाअन्तर्गत चीन फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सीएफआरडी)को सहयोगमा नुवाकोटको म्यागाङ गाउँपालिका–४, किम्ताङमा नवनिर्मित चिया प्रशोधन कारखाना स्थानीय चिया सहकारीलाई हस्तान्तरण गरिएको छ।
नेपालस्थित जनवादी चीनका राजदूत छेन सोंगले किम्ताङ गाउँ चिया सहकारीका अध्यक्ष शर्मन तामाङलाई ‘वाइब्रेन्ट भिलेज’को प्रतीक पट्टि हस्तान्तरण गर्दै कारखानाको औपचारिक उद्घाटन गरे ।
समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपेन्द्र श्रेष्ठ, सीएफआरडी नेपाल कार्यालयकी निर्देशक सु झिकियाङ, म्यागाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ लगायतको उपस्थिति थियो।
कार्यक्रममा स्थानीय बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
परियोजनाअन्तर्गत आधुनिक चिया प्रशोधन कारखाना निर्माण गरिएको छ । साथै नेपाली सहकारी चिया किसानहरूलाई चीन पठाइ चिया टिप्ने, प्रशोधन गर्ने र बजार व्यवस्थापनको प्रशिक्षण दिइएको थियो । चिनियाँ चिया विज्ञहरू प्रशिक्षणसमेत दिएका थिए।
परियोजनाको दीर्घकालीन लक्ष्य नुवाकोटलाई पूर्वको इलाम जस्तै उच्च उत्पादनशील चिया क्षेत्रको रूपमा विकास गर्नु हो।
हस्तान्तरण समारोहमा राजदूत छेन सोंगले चीनको ग्रामीण विकास तथा गरिबी निवारणको अनुभव नेपालमा प्रयोग गर्ने प्रयासस्वरूप यो परियोजना लागू गरिएको उल्लेख गरे । उनले यो परियोजनाले नेपाली चिया किसानको आम्दानी वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थिति मजबुत बनाउने विश्वास व्यक्त गरे ।
चीनको वाइब्रेन्ट भिलेज अन्तर्गत धान खेती, तरकारी खेतीलगायत परियोजनाहरू पनि सञ्चालनमा छन्। भविष्यमा भैंसी तथा माछा पालन जस्ता परियोजना सञ्चालन गरिनेछन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले यो परियोजना नेपालमा चिनियाँ सहयोगको नमूना भएको बताए।
सीएफआरडी नेपाल कार्यालयकी निर्देशक सु झिकियाङले नेपालको ग्रामीण क्षेत्रको विकासमा चिनियाँ गैरसरकारी संस्थाहरूको दीर्घकालीन सहयोग रहने प्रतिबद्धता दोहोर्याइन्।
म्यागाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले चीन भ्रमणमा चिया टिपाइ, प्रशोधन, र बजार व्यवस्थापनमा स्थानीय किसानहरूले महत्त्वपूर्ण ज्ञान हासिल गरेको बताइन् ।
समारोहमा सहभागीहरूले स्थानीय चिया बगानको अवलोकन गरेका थिए । स्थानीय किसानहरूले कारखानामा मेसिनबाट चिया उत्पादन गरिरहेको दृश्य हेरेका थिए ।