काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ)का लागि आवेदन दिएका १४ कम्पनीलाई अनुमति पाउने सूचीबाटै हटाएको छ ।
बोर्डले ६ जलविद्युत्सहित १४ कम्पनीलाई आईपीओ पाइपलाइनको सूचीबाट हटाएको हो ।
पछिल्लो समय बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नजिकका मान्छे दाबी गर्दै आईपीओ स्वीकृतिका लागि कमिशन मागेको आरोप जलविद्युत् प्रवर्द्धकहरूले लगाईरहँदा बोर्डले एक दर्जनभन्दा बढी कम्पनीलाई अनुमतिको सूचीबाटै हटाइदिएको हो ।
बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले मापदण्ड नपुगेका १४ कम्पनीलाई मापदण्ड पूरा गरी पुनः आवेदन पेश गर्न भन्दै सूचीबाट हटाइएको बताए ।
उनका अनुसार ती १४ कम्पनीमध्ये १३ ओटाको वास्तविक प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम छ । ‘एक कम्पनीको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) अवधि ५ वर्ष मात्र देखिएकाले लगानीकर्ताको जोखिमलाई ध्यान दिँदै आवेदन लिस्टबाट हटाइएको हो,’ उनले भने ।
झन्डै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउन बोर्डलाई निर्देशन दिएको थियो । ‘सोही निर्देशनबमोजिम नेटवर्थ कम भएका कम्पनीलाई लामो समय आईपीओ लिस्टमा राख्नुभन्दा तोकेबमोजिम नेटवर्थ कायम गरी पुनः आवेदन पेश गर्ने शर्तमा हाललाई सूचीबाट हटाइएको हो,’ बोर्ड प्रवक्ता घिमिरेले भने ।
बोर्डले ती कम्पनीहरूको नाम आफ्नो वेबसाइटमा आईपीओका लागि पाइपलाइनमा रहेको कम्पनीहरूको सूचीबाट पनि हटाएको छ । आइतवारसम्म बार्डको वेबसाइटमा रहेका यी कम्पनीको नाम सोमवारबाट हटाइएको छ ।