काठमाडौं । नेप्से परिसूचक लगातार पाँच कारोबार दिन घटेको छ । बिहीवारसँगै नेप्से परिसूचक पाँच दिनमा ६३ दशमलव ८४ अंक घटेको छ । परिसूचक १९ सयको लाइनमा आएपछि लगानीकर्ताहरु प्यानिक भएको देखिएको छ ।
२ हजारको मनोवैज्ञानिक विन्दुबाट तल आएपछि आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर भएको हो । २ हजारभन्दा तल झरेपछि सूचक थप घट्न सक्ने अनुमान सहित लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको अनुमान गरिएको छ ।
दिनहुँ बजार घट्दा कारोबार समेत प्रभावित भएको छ । केही दिन अगाडि ४ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा अहिले २ अर्बको वरीपरि झरेको छ। साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १९ दशमलव ५६ अंक घटेर १ हजार ९७२ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८४ प्रतिशत घटेको छ ।
३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर ४० हजार ९१२ पटकमा रू. २ अर्ब ९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ७ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. २४३ दशमलव ३० पुगेको हो । त्यस्तै दोस्रोमा पोखरा फाइनान्सको शेयर मूल्य ६ दशमलव २१ प्रतिशत बढेर रू. ५२० कायम भएको छ ।
बिहीवार सबैभन्दा बढी रुरु जलविद्युत् परियोजनाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू.५०४ दशमलव ७० कायम भएको छ । त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्सको शेयर मूल्य ९ दशमलव ३९ प्रतिशत घटेर रू. ८२० मा झरेको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा पनि यहि गोर्खाज फाइनान्सले ओटगेको छ । यस कम्पनीको रू. १७ करोड ८२ लाख बराबरको भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको रू. १० करोड ५१ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक सबै घटेका छन् । सबैभन्दा बढी अन्य समूहको सूचक १ दशमलव २५ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्त समूहको सूचक १ दशमलव ७२ प्रतिशत घटेको छ ।