राष्ट्रियसभामा अन्तत: तिनै हरुवा–चरुवा र कुरुवाहरू नै चुनिने भए । ‘जनताले यो ५ वर्षलाई यो मान्छे हाम्रो प्रतिनिधि हुन सक्दैन’ भनेकालाई राष्ट्रियसभामा क्रेनै लगाएर ल्याउने भए ।
धेरैले ‘लोकतन्त्रमा यस्तो हुन सक्दैन, जोकतन्त्रमा मात्रै यस्तो हुन्छ । यसरी छानिनेहरू दल प्रतिनिधि हुन्, छल प्रतिनिधि हुन्, तर जनप्रतिनिधि हुँदै होइनन् । माननीय होइनन्, ताननीय हुन् ’ भनिरहेका छन् ।
उता, कोशी प्रदेशमा पनि जसले संघीयता खारेजीको माग गरिरहेको थियो, गणतन्त्र फाल्ने भन्दै थियो, उसैलाई सभामुख बनाए । जुन शासन ल्याउन लडेका थिए, त्यही शासनका विरोधीलाई काँधमा उचाले । त्यसमा पनि मान्छेहरूले विरोध जनाए ।
कोशीमा मात्र होइन, देशैभरि यस्ता विरोधाभास छन् । सिद्धान्त एकातिर, काम अर्कैतिर, अनि रासन, भाषण र शासन झनै कता–कतातिर । यहाँ हरेक राजनीतिक दलहरूको भनाइ र गराइमा विरोधाभास र द्विविधा देखिन्छ । त्यसैले गणतन्त्रवादी चैं राजतन्त्रवादी र राजतन्त्रवादी चैं गणतन्त्रवादी जस्तो देखिन थालेका छन् ।
भिडियो हेर्नुहोस् ।
तर मानिसहरू कुरै बुझ्दैनन् । प्रजातन्त्र वा लोकतन्त्र बलियो बनाउन दलहरू चाहिन्छन् । दलहरूले चलाउन जानेको त त्यै दलतन्त्र हो । फेरि यहाँ त दलहरू चलाउन दलालहरू चाहिन्छन् । यसरी अहिलेको परिभाषामा दलतन्त्र भनेको दलालतन्त्र हो र दलालतन्त्र भनेकै लोकतन्त्र हो । त्यसैले दलालीले लोकतन्त्र अर्थात् दलालतन्त्र बलियो बनाउँदै गएको छ । दल र दलालका बीचमा एउटा ला मात्रैले पनि करामत गर्छ । जसले ला भनेर दिन्छ, त्यही दलाल । जसले जनतालाई दल्न जानेको छ, त्यही हो दल ।
पहिला गौदान गरेपछि वा सुनपानी छर्केपछि मानिस चोखिन्थे, अहिले दलमा यसो लेनदेन मिलाएपछि दलाल चोखिन्छ । जति नै बेइमान भए पनि ऊ दलभित्र प्रवेश गरेपछि ऊ चोखो, प्यारो, महान् र चरित्रवान् कहलिन्छ । अनि नदीको फोहोर पानीलाई त पवित्रजल मानिदिनुपर्ने जमानामा बेइमानलाई चरित्रवान् मान्नु ठूलो कुरा पनि भएन । त्यसैले त शिक्षक भन्नुस्, न्यायाधीश भन्नुस् वा पत्रकार, उनीहरू कुनै न कुनै दलका कार्यकर्ता नै बनेका हुन् । दलको झोला नबोकेका त अयोग्य र नियुक्ति सियुक्तिमा अछुतमा पर्नेे नै भए । दलतन्त्रमा यस्तै हुनुपर्ने होइन र ? यसरी नै मुलुक चलाउने हो भने द(ला)लतन्त्रलाई अझै बलियो बनाउदै लानुपर्छ ।
राजाले गर्न दिएनन्, अब लोकतन्त्रले गर्छ भन्थे । दलतन्त्रमा संघीयता ल्याएपछि रातारात विकास हुन्छ भन्थे । लोकतन्त्रले गर्नुसम्म गरेछ त, केही मान्छेको त रातारात विकास भएछ । कतिपयले स्थानीयले अधिकार पाएनन् भन्छन् । नपाएको भए रातारात डोजरे डनहरू काहाँबाट आए त ? स्थानीय क्षेत्रबाटै जन्मिएका होइनन् र ?
दलालतन्त्रमा जनताको नेतृत्व पनि बलियो बनाउने भनिएको थियो । जनताबाटै बनेका नेताहरू अहिले कति बलिया भए हेर्नुस् त । पाँचजना नेता बसेर दिउँसै दिनलाई रात पार्न सक्छन्, अँधेरोलाई उज्यालो सावित गर्न सक्छन् । त्यसैले त देश छाड्नेहरूको लाम बढेको छ, नेताहरूकहाँ दलालहरूको जाम बढेको छ, चाकरीको दाम बढेको छ । त्यसैले युवा निर्यात मन्त्रीहरूको एक प्रमुख काम बनेको छ र नेता उत्पादनमा भने आत्मनिर्भर नाम बनेको छ ।
दलालीले लोकतन्त्र अर्थात् दलालतन्त्र बलियो बनाउँदै गएको छ । दल र दलालका बीचमा एउटा ला मात्रैले पनि करामत गर्छ । जसले ला भनेर दिन्छ, त्यही दलाल । जसले जनतालाई दल्न जानेको छ, त्यही हो दल ।
दलालतन्त्रको जादू यस्तो छ कि हाम्रा सरकारहरूले सञ्चालन गरिरहेका राष्ट्रिय गौरवका आयोजना भनेको दशकौंदेखि त्यै एउटा जहाज किन्ने कुरादेखि साबुनपानीले हातधुने जस्ता कार्यक्रमहरू ५०औं वर्षदेखि चलि नै रहेको छ । त्यसैले हरेक विदेशी देश भ्रमणमा आउँदा देशले हारेर के भो र ? देशले हारे पनि यहाँ प्रत्येक चुनावमा राजनीतिले नै जित्ने गरेको छ ।
यस्तो लाग्छ, प्रत्येक परिवर्तनपछि परिवर्तनकारीहरू कान नसुन्ने अर्थात् बहिरा बनेका छन् । यो देशमा सत्ता बदलिए, भत्ता खाने बढे, तर व्यवस्था बदलिएन र जनताका अवस्था बदलिएन, सुविस्था थपिएन । खालि जनताको बेवास्ता मात्र बढ्यो । सत्तामा अनुहार बदलिए, तर व्यवहार बदलिएनन् । मुखौटा बदलिए, तर मन बदलिएनन् । रैतीलाई जनता बनाउने भन्थे, जन्तु जस्तै पो बनाउन थाले । यसले केही फरक परेको छैन कि सत्तामा रावण होस् या राम, जनता त सधैं बिचरो हो जसले गरोस् जुनसुकै काम । किनकि यै त हो दलालतन्त्रले गर्ने तामझाम ।
घुसखोरीले हाम्रो नाकमा नत्थी लगाएको छ । तर के गर्नुहुन्छ ? किनकि घुसखोरी त सानोतिनो समस्या न हो । यो देशमा घुसखोरीभन्दा कत्ति ठूला समस्या छन् कति । तिनका समाधान समस्याभन्दा झन् ठूला छन् । तर कहाँ र कसलाई भन्न जानुहुन्छ ? नेताहरूकहाँ जानुभयो भने उनीहरूले तपाईंलाई अझ ठूला समस्या देखाइदिन्छन् ।
पुलिस थानामा रिपोर्ट लेखाउन जानोस्, लेख्नेले नै माग्छ । अदालतको ढोका ढक्ढकाउनोस्, त्यहाँ त झन् पियनबाटै दोहन शुरू हुन्छ । सरकारी कर्मचारी हाई काड्दै बस्छन् । तर तपाईंको काम गर्ने फुर्सदै छैन । सचिवहरू उँगिरहेका हुन्छन् । मन्त्रीकोमा गयो भने उनीहरू पनि कि त कसैलाई ठुँगिरहेका हुन्छन्, कि विदेश घुमिरहेका हुन्छन्, नत्र दिउँसै संसद् सा मन्त्रालयमा घुरिरहेका हुन्छन् । प्रधानमन्त्रीकोमा जानुभयो भने उनी त झन् लठ्ठुहरूसँग गफमा लठ्ठ रहन्छन् । राष्ट्रपतिकोमा जानुभयो भने उनी त पदको मर्यादा अनुसार स्वाभाविक रूपमा सुस्त हुन्छन् ।
त्यसोभए हाम्रो समस्या कसले समाधान गर्छ त भन्नुहोला । हाम्रो समस्या समाधान गर्न भगवान्ले मात्र सक्छन् । ती भगवान् आकाशतिरका हैनन् नि, दक्षिणतिरका हुन् । तर दक्षिणतिरका भगवान्लाई दलहरूबाट मनग्गे दक्षिणा दान हुने भएपछि उनले जन्माउने पनि दलाल नै हुन् ।
त्यसैले जबसम्म मतदाताका मनस्थिति बदलिँदैनन्, तबसम्म उनीहरूको परिस्थिति बदलिनेवाला छैन । किनकि हामीले भोगिरहेको लोकतन्त्र खासमा लोकतन्त्र होइन, केबल दलालतन्त्र हो । हामीले दलालतन्त्रलाई रोज्ने कि सच्चा लोकतन्त्र, यो त तपाईं हामीले नै निर्णय गर्ने कुरा होइन र ?