logo
महुली लघुवित्तले फागुन २३ गते साधारण सभा गर्दै, छैन लाभांश प्रस्ताव
महुली लघुवित्तले फागुन २३ गते साधारण सभा गर्दै, छैन लाभांश प्रस्ताव

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २३ गते १२औं वार्षिक साधारण सभा आव्हान गरेको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजे सभा गर्ने  निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । कम्पनीले पछिल्लो वर्ष ०७८/७९ मा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

त्यस पछिका दुई आर्थिक वर्ष भने कम्पनीले लगानीकर्ताको हात खाली बनाएको हो । सभाले संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारणतर्फ २ जना सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीले गत पुसमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ जारी गरेको थियो ।

कम्पनीले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । संस्थापक शेयरलाई सर्वसाधारणतर्फ  परिणत गर्ने तयारी गरेको कम्पनीले कति प्रतिशत भन्ने बारे उल्लेख गरेको छैन् । साथै अन्य कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.