काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रानीवन पार्टी प्यालेस, नागार्जन, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । पछिल्लो दुई आर्थिक वर्ष कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।