विराटनगर । भारतले फूलबारी नाकाबाट धेरै बंगलादेशी वस्तुको आयात बन्द गरे पनि सोही नाकाबाट हुने नेपाल र बंगलादेशबीचको व्यापार भने सुचारु छ । नेपाल र बंगलादेशबीच अधिकांश व्यापार फूलबारी–बंगलाबन्द नाकाबाट हुन्छ ।
भारतले जेठको शुरूमा फूलबारीमा रहेको स्थल भन्सार नाकाबाट तयारी पोशाकलगायत धेरै बंगलादेशी सामानको आयात नगर्ने घोषणा गरेपछि नेपाल र बंगलादेशबीचको व्यापार पनि प्रभावित हुने आशंका गरिएको थियो । यद्यपि भारतले नेपाल र बंगलादेशबीचको व्यापारमा कुनै अवरोध नगर्ने घोषणा गरेको थियो । ‘हालसम्म नेपाल–बंगलादेशबीचको आयात–निर्यातमा कुनै समस्या छैन,’ मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख हरिहर पौडेलले आर्थिक अभियानसँग भने । ‘बंगलादेशसँगको व्यापारमा कुनै समस्या छैन, पैठारी र निकासी दुवै सहज छन् ।’ उनका अनुसार बंगलादेशसँगै भूटानबाट पनि ‘लेटर अफ ग्यारेन्टी’को आधारमा नेपालमा आलु भित्रिरहेको छ ।
नेपाल–बंगलादेश चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले भारत र बंगलादेशबीचको नाका ठप्प भएपछि भारतबाट गइरहेका सामान नेपालले बंगलादेशलाई आपूर्ति गर्न थालेको छ । बंगलादेशसँग नेपालले एक दशकदेखि बेहोरिरहेको व्यापारघाटा व्यापारबचतमा रूपान्तरण गर्न सक्ने अवसर आएको उनले बताए ।
सरकारले अहिलेको परिस्थिति बुझेर बंगलादेश सरकारसँग वार्ता गरी नेपाली उत्पादनलाई दक्षिण एसियाली खुला व्यापार सम्झौता (साफ्टा) अन्तर्गत पाउनुपर्ने सुविधा र यसअघि भएका सम्झौताअनुसार कृषि उत्पादनमा भन्सार छूटका लागि पहल गर्नुपर्ने उनी बताउँछन् ।
नेपालबाट कृषि उत्पादन नै बढी बंगलादेश जान्छ । पछिल्लो समय भारतबाट बंगलादेशमा प्लाइउड आपूर्ति बन्द भएपछि नेपालले त्यसको विकल्पका रूपमा बंगलादेशलाई प्लाइउड निर्यात गर्न सक्ने सम्भावना छ । तर त्यसका लागि कूटनीतिक पहल आवश्यक रहेको नेपाल–बंगलादेश चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष जैन बताउँछन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बंगलादेशसँगको व्यापारघाटालाई व्यापारबचतमा रूपान्तरण गर्न नेपाल–बंगलादेशबीच व्यापार सम्झौता र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । नेपालबाट निर्यात हुने कृषि र गैर–कृषि उत्पादन बंगलादेशको बजारसम्म पुर्याउँदा आइपर्ने अवरोध हटाउन सक्ने हो भने नेपाल–बंगलादेशबीचको व्यापार फेरि दशकअघिकै उचाइमा पुग्ने उनको विश्वास छ ।
६ महीनाअघि उद्योग संगठनले आयोजना गरेको भेटघाट कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग सुरानाले व्यापार, औद्योगिक विकास, व्यवसाय प्रवर्द्धन तथा पर्यटन लगायत क्षेत्रमा दुई देशबीच सहकार्य र साझेदारीको सम्भावनाबारे छलफल गरेका थिए । राजदूत चौधरीले पनि व्यापार सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
सामान्यतया कुनै पनि मुलुकले व्यापारबचत भइरहेको देशसँग व्यापारघाटा हुन थालेपछि नीतिगत परिवर्तन गर्दै विभिन्न रणनीति अपनाउने गर्छ । तर नेपालले भने एक दशकभन्दा बढी समयदेखि व्यापारघाटा बेहोर्दै आएको बंगलादेशसँग व्यापारबचतका लागि ठोस पहल गरेको देखिँदैन, जसकारण निजीक्षेत्र असन्तुष्ट बनेको छ ।
२०५४ भदौ १४ गतेदेखि नेपालले बंगलादेशको फूलबारी नाकामार्फत द्विपक्षीय व्यापार शुरू गरेको हो । आर्थिक वर्ष २०५४/५५ देखि २०५६/५७ सम्म नेपालको पक्षमा व्यापार रह्यो । उदाहरणका लागि, आर्थिक वर्ष २०५६/५७ मा नेपालले बंगलादेशसँग ९४ करोड २३ लाख रुपैयाँको निर्यात गर्दा बंगलादेशले नेपालमा ४१ करोड ३२ लाखको मात्र निर्यात गरेको थियो ।
त्यसपछि चार वर्ष व्यापारघाटामा गए पनि आर्थिक वर्ष २०६४/६५ देखि २०७०/७१ सम्म सात वर्ष पुनः व्यापारबचतमा रह्यो । त्यो अवधिमा गहुँ, मसुरो जस्ता कृषि वस्तु बंगलादेश निर्यात भइरहेका थिए । बंगलादेशले पनि कृषि उत्पादनमा न्यूनतम भन्सार दर कायम गरेको थियो, जसले व्यापारलाई सहज बनाएको थियो ।
तर आर्थिक वर्ष २०७१/७२ यता नेपाल निरन्तर व्यापारघाटामा छ । ‘दश वर्षदेखि नेपाल–बंगलादेश व्यापारमा नेपालले व्यापारघाटा बेहोर्दै आएको छ,’ मेची भन्सार कार्यालयका तत्कालीन प्रमुख तथा हाल सरुवा भई भैरहवा भन्सार पुगेका रामप्रसाद रेग्मीले बताए । उनका अनुसार नेपालबाट कृषि तथा औद्योगिक उत्पादनको निर्यात घट्दै गएको छ भने बंगलादेशबाट विद्युतीय सामग्रीदेखि खाना पकाउने कुकरजस्ता उपभोग्य वस्तुको आयात बढेकाले व्यापारघाटा विस्तार भएको हो ।
बंगलादेशमा हालैको राजनीतिक परिवर्तनका कारण केही दिन आयात–निर्यात प्रभावित भए पनि अहिले व्यापार विनाअवरोध सञ्चालन भइरहेको छ ।
नेपाल बंगलादेश चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष जैनले भारतसँगको बढिरहेको व्यापार घाटा कम गराउन समय लाग्ने भए पनि सरकारले चाहेमा बंगलादेशसँगको व्यापारघाटालाई बचतमा लिएर जान सक्ने सम्भावना रहेको बताए ।
अब सरकारले बंगलादेशसँग त्यहाँको कृषि उत्पादन र नेपालको कृषि उत्पादनलाई भन्सार शुल्क नलाग्ने व्यवस्था अर्थात् एफटीए सम्झौता गरेमा नेपालले एक दशकदेखि बेहोर्दै आएको व्यापार घाटा सन्तुलनमा आउने दाबी उनले गरे । अहिले नेपाली कृषि उपजलाई बंगलादेशले ८० प्रतिशतसम्म भन्सार लगाएकाले यहाँको उत्पादन जति परिमाणमा जानुपर्ने हो, त्यति जान नसकेको उनले बताए ।
मेचीनगर नगरपालिकाका मेयर गोपालबहादुर बुढाथोकीले बंगलादेशका नगरहरूसँग भगिनी सम्बन्ध स्थापित गरेर यहाँबाट निर्यात बढाउन पहल गरिने बताए । उनका अनुसार बंगलादेशसँगको व्यापारलाई सन्तुलित बनाइरहेको मसुरो दालको निकासी ठप्प भएपछि व्यापारघाटा बढ्दै गएको हो । केही औद्योगिक उत्पादन समेतको माग घटेकाले व्यापारमा सन्तुलन बनाउन कृषि उत्पादनमा एफटीएको अवधारणामा जानु अहिलेको आवश्यकता रहेको उनले बताए ।
सन् २०१९ मा बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ प्रकारका सामग्रीलाई भन्साररहित सुविधा दिने निर्णय गरेको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन नभएको नेपाल–बंगलादेश चेम्बर अफ कमर्सका संस्थापक जैनले बताए । बंगलादेशले नेपालका १ सय ८ वस्तुलाई भन्सारसहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रिजेरेटर, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, सुर्ती, टमाटरको सस र बिस्कुटलगायत ५० वस्तुमा भन्सार शुल्क निःशुल्क गर्ने भनेको थियो ।