काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा ५२ अर्ब ६० करोड ८ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो साता उक्त रकम बराबरको १२ करोड ८२ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताको तुलनामा यो साता २ अर्ब १९ करोड ७ लाख रुपैयाँभन्दा बढीको १ करोड ६४ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता ५० अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ११ करोड १८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
पछिल्ला कारोबार दिन बजार बढ्न नसके पनि कारोबार रकम भने वृद्धि भइरहेको छ । औसतमा यो साता कारोबार रकम ४३ करोड ८१ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ३२ लाख ८४ हजारभन्दा बढी भएको छ ।
नेप्सेका अनुसार गत साता औसतमा १० अर्ब ८ करोड रुपैयाँभन्दा बढीको २ करोड २३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा १० अर्ब ५२ करोड १ लाख रुपैयाँभन्दा बढीको २ करोड ५६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कारोबार रकम बढेको यो साता नेप्से परिसूचक भने १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६५५ दशमलव ३८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ६२८ दशमलव ९१ विन्दुमा झरेको हो ।
यो साता पाँच कारोबार दिनमा अघिल्ला दुई कारोबार दिन बढेको बजार पछिल्ला तीन कारोबार दिन निरन्तर घटेर बन्द भएको छ ।
बजार घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य ४३ अर्ब १३ करोड रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २३ अर्ब ३ करोड ७१ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७९ अर्ब ९० करोड ३७ लाख रुपैयाँ कायम भएको हो ।
पछिल्लो समय घट्दो क्रममा रहेको बजार अबको केही समय बढ्ने अपेक्षा ब्रोकरहरूको छ । असार मसान्त नजिकिएसँगै अल्पकालीन लगानीकर्ताले कर्जाको ब्याज जोहो गर्नका लागि भए पनि अल्पकालीन कारोबार बढाउने अनुमान ब्रोकरहरूले गरेका हुन् । शेयर धितो कर्जा बढेको अवस्थामा बजारमा लगानी बढे पनि माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा यतिबेला बजारले गति लिन नसकेको बुझाइ जानकारहरूको छ ।
साताव्यापी परिसूचकको तुलना
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
वित्त समूहले सर्वाधिक गुमाए
यो साताको कारोबारमा समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको अवस्थामा दुई समूहको परिसूचक मात्र बढेको छ । होटल तथा पर्यटन समूहको शून्य दशमलव ८२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६४ प्रतिशत परिसूचक बढेको हो । यी बाहेक बाँकी समूहको परिसूचक भने घटेका छन् ।
परिसूचक घटेको आधारमा यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ । वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६७ प्रतिशत घटेको हो ।
त्यस्तै यो साता लगानीको २ दशमलव शून्य ९ प्रतिशत, अन्यको १ दशमलव ८६ प्रतिशत, विकास बैंकको १ दशमलव ८० प्रतिशत, व्यापारिकको १ दशमलव ३६ प्रतिशत, जीवन बीमाको १ दशमलव १७ प्रतिशत, बैंकिङको १ दशमलव शून्य ३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४० प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३६ प्रतिशत र लघुवित्तको शून्य दशमलव २३ प्रतिशत परिसूचक घटेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)