काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १ अर्ब रुपैयाँभन्दा धेरैको दुग्धजन्य पदार्थ (धूलो दूध र मखन) म्याद सकिने अवस्थामा पुगेपछि संस्थानले विक्रीको लागि सूचना निकालेको छ ।
डीडीसीका एक उच्च अधिकारीले ९५० मेट्रिक टन धूलो दूध र ७७० मेट्रिक टन मखनसहित करीब १ अर्ब १५ करोड रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ म्याद सकिने अवस्थामा रहेको बताए ।
- ९५० मेट्रिक टन धुलो दूध र ७७० मेट्रिक टन मखन म्याद सकिने अवस्थामा
- आफ्नो गोदाम भरिएपछि मौज्दात दुग्घ पदार्थ राख्न भाडामा लिएको गोदामसमेत भरियो
- उत्पादित सामान विक्री नहुँदा किसानलाई दूधको रकम भुक्तानी गर्न कठिनाइ
- ६०० मेट्रिक टन दुग्ध पदार्थ मूल्य समायोजन गरेर विक्री गर्न सार्वजनिक सूचना
- दुग्ध पदार्थ मौज्दात थेग्नै नसक्ने गरी बढेपछि किसानसँग किन्ने दूधको मात्रा घट्यो
उनका अनुसार धूलो दूध र मखनको उपभोग्य आयु उत्पादन भएको मितिदेखि १८ महीना हुन्छ । तर, डीडीसीमा रहेको अधिकांश धूलो दूध र मखनको उपभोग्य म्याद अबको ५ देखि ६ महीनामात्रै छ । सोही कारण डीडीसीले ६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर विक्री गर्न आइतवार सार्वजनिक सूचना जारी गरेको छ । सूचनामा ३०० मेट्रिक टन मखन र ३०० मेट्रिक टन धूलो दूधको मूल्य समायोजन गरी विक्री गरिने बताइएको छ ।
‘मौज्दात बढी भएर हामीसँग भएका सबै गोदाम भरिएका छन् । सामान राख्न भाडामा लिइएका गोदाम समेत भरिएर थेग्नै नसक्ने अवस्था छ । त्यसमाथि अधिकांश दुग्ध पदार्थको म्याद सकिने अवस्थामा छन्,’ ती अधिकारीले आर्थिक अभियानसँग भने । ‘किसानको भुक्तानी समस्या पनि उस्तै छ । त्यसकारण जसरी भए पनि मौज्दात घटाउनुपर्ने बाध्यताले गर्दा मूल्य समायोजन गरेर बेच्नुपर्ने अवस्था आएको हो ।’
पाउडरलाई जुनसकै तापक्रममा जसरी राखे पनि समस्या नहुने तर मखनलाई विशेष गरी माइनस तापक्रममा राख्नुपर्छ । जहाँ पायो त्यहीँ राख्न नमिल्ने हुँदा चाँडो बिग्रने डर हुन्छ । त्यसैले मूल्य समायोजन गरेर बेच्नुपर्ने अवस्था आएको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतम बताउँछन् ।
गोदाममा थुप्रिएर रहेको धूलो दूध र मखन बेच्न नसक्दा डीडीसीले किसानलाई करीब १ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको गौतमको भनाइ छ ।
डीडीसीको आफ्नो कुल भण्डारण क्षमता ५०० मेट्रिक टन हो । तर, उसले अहिले विभिन्न निजी डेरीका गोदाम भाडामा लिएर २५० मेट्रिक टन थप मौज्दात गरेको छ ।
डीडीसीले बालाजु, खरिपाटी, हेटौंडा, लुम्बिनी, नेपालगञ्ज, धनगढी, जनकपुर र विराटनगर दुग्ध वितरण आयोजनाहरूमा दुग्ध पदार्थको भण्डारण गर्दै आएको छ । गतवर्ष पनि डीडीसीले किसानबाट उधारोमा दूध किनेबापतको भुक्तानी समयमा तिर्न नसकेपछि सरकारसँग ६० करोड रुपैयाँ ऋण मागेर तिरेको थियो ।
घटाइयो दूध संकलन
५०० मेट्रिक टन मात्रै भण्डारण क्षमता रहेको डीडीसीमा १ हजार ७२० मेट्रिक टन दुग्ध पदार्थ मौज्दात भएसँगै दैनिक रूपमा गरिने दूध संकलन घटाइएको छ ।
सामान्य अवस्थामा डीडीसीले दैनिक करीब २ लाख लिटर दूध संकलन गर्ने गरेकोमा अहिले मौज्दात बढेपछि अहिले करीब ९० हजार लिटर मात्रै संकलन गर्ने गरेको छ । डीडीसीले दूध संकलन घटाएकाले मिल्क होलिडे हुने त्रासमा किसान छन् । डीडीसीले दूध संकलन घटाएसँगै किसानहरू मिल्क होलिडे हुने त्रासमा रहेको केन्द्रीय दुग्ध सहकारी संघले बताएको छ ।
संघका अध्यक्ष थानेश्वर सापकोटाले सरकारी निकाय भएर पनि किसानको पक्षमा डीडीसीले काम नगरेको बताए ।
सूचना अधिकारी गौतम भने मौज्दात गरेर राख्ने ठाउँ नै नभएका कारण बाध्य भएर दूध संकलन घटाउनुपरेको बताउँछन् । पछिल्लो समय बजारमा खपत कम भएका कारण पनि हरेक वर्ष मौज्दातको समस्या आउने उनको भनाइ छ ।
उनका अनुसार ४/५ वर्ष अघिसम्म डीडीसीले दैनिक १ लाख २० हजार लिटर दूध विक्री गर्ने गरेकोमा अहिले दैनिक ८० हजार लिटरमात्रै विक्री गर्न सकेको छ ।