काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आइतवार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको १८ वर्षको अवधिमा बैंकले १८ लाख ७९ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको बताइएको छ । सातओटै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले २०० शाखामार्फत रू. २ खर्बभन्दा बढी निक्षेप संकलन र रू. १ खर्ब ७३ अर्ब परिचालन गरेको बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आइतवार विभिन्न शाखामार्फत प्रभातफेरीको आयोजना गरेको थियो । सो कार्यक्रममा ९२१ जना कर्मचारीको सहभागिता थियो । प्रभातफेरी कार्यक्रमबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकको छ । वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलसँगको सहकार्यमा सातओटै प्रदेशका ३३ शाखामा रक्तदान कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा ९१३ जनाले रक्तदान गरेका थिए ।
डिजिटल बंैकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकले ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ मूल मन्त्रलाई आत्मसात् गर्दै सिटिजन्स मोबाइल बंैकिङ एपमार्फत ‘ट्याप एन्ड पे’ सेवा तथा नेपालमै पहिलोपटक ‘क्रस बैंक टेलर क्यूआर’ भुक्तानी सेवा सञ्चालनमा ल्याएको बताइएको छ । मोबाइल बंैकिङ सेवामार्फत अफलाइन माध्यमबाटै रू. ५ हजारसम्मको भुक्तानी ट्याप एण्ड पेमार्फत सहज रूपमा गर्न सकिने बताइएको छ । साथै बैंकको शाखामा गई क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सकिनेछ । यस प्रकारको सेवाले भुक्तानी प्रक्रिया झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले ‘सिटिजन्स फ्रिल्यान्सर सेभिङ एकाउण्ट’ सञ्चालनमा ल्याएको छ । यो खाता विशेषगरी फ्रिल्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको बताइएको छ । उच्च ब्याजदर रहेको यो खातामा पहिलो वर्षका लागि स्वास्थ्य उपचार बीमा रू. २५ हजारसम्म (ओपिडी सेवा ५ हजारसम्म), दुर्घटना मृत्यु बीमा रू. ३ लाखसम्म लगायत नि:शुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता सुविधा समावेश गरिएको बताइएको छ ।