काठमाडौं । आइतवारको कारोबारमा नेप्से परिसूचक सम्हालिन खोजेको देखिन्छ । पछिल्ला ६ कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेको छ । अघिल्ला पाँच कारोबार दिनको तुलनामा आइतवार नेप्से परिसूचक २ दशमलव ७९ अंकले घटेको हो । यो घटाई भन्दा पनि नेप्से स्थिर भई सम्हालिन लागेको संकेत ब्रोकरहरूले गरेका छन् । भोलिका दिनमा बजार केही सुधार हुने आशामा पनि ब्रोकरहरू छन् ।
आइतवार २ हजार ६२५ दशमलव २६ विन्दुसम्म पुगेको नेप्से २ हजार ६०६ दशमलव शून्य ९ विन्दुसम्म झरेको छ । अन्तिममा बजार २ हजार ६०९ दशमलव शून्य ५ विन्दुमा बन्द भएको हो । यो दिन १०० कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १४५ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन एक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने १ हजार ४८ रुपैयाँमा नै स्थिर रहेको छ ।
तीन कम्पनीको शेयर मूल्य यस दिन उच्च दरमा बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य १० प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र विन नेपाल लघुवित्तको शेयर मूल्य ९ दशमलव ५३ प्रतिशत बढेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँ ६० पैसाले बढेर अन्तिम मूल्य ६९९ रुपैयाँ ६० पैसा कायम भएको हो । त्यस्तै छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ ८९ पैसा बढेर अन्तिम मूल्य ३१८ रुपैयाँ र विन नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता २३६ रुपैयाँ १९ पैसाले बढेर अन्तिम मूल्य २ हजार ७१५ रुपैयाँ ५६ पैसा कायम भएको हो ।
विन नेपाल लघुवित्तको एफपीओ कारोबारमा आएकै दिन शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो । यस कम्पनीले सर्वसाधारणमा जारी गरेको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ गत बिहीवार दोस्रो बजारमा सूचीकृत गराएको थियो । आइतवारदेखि यी शेयर कारोबारयोग्य भएका हुन् ।
आइतवार शेयर मूल्य सर्वाधिक घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १८२ रुपैयाँ ८६ पैसाले घटेर अन्तिम मूल्य १ हजार ९१७ रुपैयाँ ६० पैसा कायम भएको हो ।
आइतवार सम्हालिन खोजेको बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन बिहीवार ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको १ करोड ७४ लाख २३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतवार ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँभन्दा बढीको १ करोड ६९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको ७० करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १०१ रुपैयाँ ८५ पैसाले बढेर अन्तिम मूल्य १ हजार २९७ रुपैयाँ कायम भएको छ ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ४ दशमलव १९ प्रतिशत बढेको छ । योसँगै लघुवित्तको १ दशमलव २२ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ११ प्रतिशत परिसूचक बढेको छ । आइतवार व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव ६८ प्रतिशत घटेको छ । २ प्रतिशतभन्दा बढी परिसूचक घट्नेमा विकास बैंक समूह पनि रहेको छ । विकास बैंक समूहको परिसूचक २ दशमलव २२ प्रतिशत घटेको हो ।
यस दिन कुल बजार पूँजीकरण ४ अर्ब २६ करोड ९९ लाख रुपैयाँले घटेको छ । यो दिन कुल बजार पूँजीकरण ४३ खर्ब ४० अर्ब ४३ करोड ५९ लाख रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ४४ अर्ब ७० करोड ५८ लाख रुपैयाँ कायम थियो ।