काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी रहेको कम्पनीले बुक क्लोज मिति भने वैशाख ५ गतेका लागि तय गरेको छ । बुक क्लोजको आधारमा वैशाख ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीले २७ प्रतिशत दरले हुन आउने प्रतिशेयर १०० रुपैयाँको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासनका लागि चैत ३ गते अनुमति पाएको थियो । कम्पनीले ५ अर्ब चुक्तापूँजी कायम गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले २७ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।