काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले संस्थापकतर्फको अवितरित उक्त हकप्रद शेयर जेठ ११ गतेदेखि असार १ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा ल्याएको हो । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेका यी शेयर विभिन्न चरणमा लिलामीमा यसअघि पनि विक्री खुला गरेको थियो ।
कम्पनीले ७० प्रतिशत हकप्रद शेयर २०७९ साल जेठ ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरी २०७९ साल असार १ गते बाँडफाँट गरेको थियो । सो समयमा कम्पनीको संस्थापकतर्फ ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता र सर्वसाधारणतर्फ २ लाख २ हजार ६९६ दशमलव ०८८ कित्ता हकप्रद शेयर विक्री नभएको हो ।
पुनः लिलामीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन पेश गर्नुपर्नेछ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।