काठमाडौं । जेठ १४ गतेदेखि सार्वजनिक निष्कासनमा आएको ट्रेड टावर लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि एक दिन थप भएको छ । यस अघि छिटो अवधि जेठ १९ गते तोकिएकोमा आइतवार सार्वजनिक विदा परेकाले कम्पनीले एक दिन थप गरी जेठ २० गतेसम्मको अवधि कायम गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि भने मागभन्दा बढी आवेदन परिसकेको छ । सोमवार विहान १० बजेसम्म १८ लाख २८ हजार ६०९ जना आवेदकहरुले २ करोड १८ लाख १ हजार ७२० कित्ता आईप्ओि माग गर्दै आवेदन दिएका हुन । कम्पनीले ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा जारी हुने कुल शेयरमध्ये १० प्रतिशत शेयर
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरी बाँकी शेयर थप सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ ।