काठमाडौं । चालू आर्थिक वर्ष (आव) को वैशाखमा विदेशबाट नेपालमा रु १ खर्ब ६५ अर्ब ३० करोड विप्रेषणबाट भित्रिएको छ । अघिल्लो वर्षको वैशाखमा विप्रेषण आप्रवाह रु १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो । विप्रेषणबाट गत वर्षको तुलनामा यस वर्प करीब रु ५० अर्ब बढी रकम नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको चालू आव २०८१/८२ को १० महिनाको देशको वर्तमान तथा आर्थिक तथा वित्तीय स्थितिले विप्रेषणबाट वैशाखमा डेढ खर्बभन्दा बढी रकम देशमा भित्रिएको देखाएको हो ।
बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएर रु १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।
यसैगरी‚ समीक्षा अवधिमा (चालू आवको साउनदेखि वैशाखसम्म) अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या यस वर्ष ७६ हजारभन्दा बढीले वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ५ हजार ६१० जना नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । यसैगरी २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ लाख ७३ हजार ३०७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका थिए भने २ लाख ३६ हजार ३९८ जनाले पुनः श्रम स्वीकृति लाएका थिए ।