काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११ दशमलव शून्य ६ अंकले घटेको छ । आइतवारसम्म निरन्तर चार कारोबार दिन बजार घटेको हो ।
जेठ २० गतेपछिको कारोबारमा बजार निरन्तर घटिरहेको छ । गत बिहीवार ५ दशमलव ९९ अंकले घटेको बजार आइतवार भने बढी अंकले घटेको हो ।
आइतवार २ हजार ६४५ दशमलव २२ विन्दुसम्म पुगेको बजार २ हजार ६२६ दशमलव ३९ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार २ हजार ६२९ दशमलव ८९ विन्दुमा बन्द भएको हो ।
यो दिन ८६ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १६२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । रिभर फल्स पावरको र पियोर इनर्जीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ ।
रिभर फल्स पावरको शेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँ ४० पैसाले बढेर अन्तिम मूल्य ५७७ रुपैयाँ कायम भएको हो । त्यस्तै पियोर इनर्जीको शेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य ५६३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य १० प्रतिशत घटेको छ । प्रतिकित्ता १८० रुपैयाँ ८४ पैसाले घटेर अन्तिम मूल्य प्रतिकित्ता १ हजार ६२८ रुपैयाँ ४० पैसा कायम भएको छ ।
यो दिन बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको १ करोड ७१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतवार ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको १ करोड ९९ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यस दिन राधी विद्युतको सर्वाधिक रकमको कारोबार भएको छ । राधी विद्युतको ७२ करोड ९५ लाख रुपैयाँभन्दा बढीको ८ लाख ७४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कम्पनीको शेयर मूल्य २ दशमलव ७० प्रतिशतले घटेर अन्तिम मूल्य ८२४ रुपैयाँ ४१ पैसा कायम भएको छ । घटेको बजारमा जलविद्युत र होटल तथा पर्यटन समूहले कमाएका छन् ।
जलविद्युत समूहको १ दशमलव २२ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत बढेको हो । यो दिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ५ प्रतिशत घटेको छ । बिहीवार ४३ खर्ब ९९ अर्ब रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण आइतवार ४३ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी कायम भएको हो । आइतवार एकै दिन कुल बजार पूँजीकरण १८ अर्ब ४३ करोड २० लाख रुपैयाँले घटेको हो ।