काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई कुनै प्रभाव र दबाबमा नपरी निष्पक्ष रूपमा भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।
आइतवार बोर्डको ३३औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको ऐनाको रूपमा रहेको पूँजीबजारको विकास र विस्तारमा बोर्डको भूमिका सशक्त हुनुपर्ने बताएका हुन् ।
धितोपत्र बोर्ड एउटा औपचारिक संस्थाको रूपमा मात्र हैन भूमिकाको हिसाबले, कामको हिसाबले, परिणामको हिसाबले, पारदर्शिताको हिसाबले र सुशासनको हिसाबले आफूलाई बलियो संस्थाको रूपमा स्थापित गर्ने विश्वास पनि अर्थमन्त्री पौडेलले व्यक्त गरे ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा बोर्डको संस्थागत विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले बोर्डको भूमिकालाई गुणात्मक हिसाबमा सुधार गर्दै नयाँ उचाइमा पुर्याउन सरकारको समेत सहयोग मिल्ने बताए । नियमनको दुई ओटा पाटोलाई केलाउँदै अर्थमन्त्री पौडेलले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, राम्रो कामका निम्ती अनुकूल वातावरण निर्माण गर्ने एउटा पाटो हो भने गल्ति कमजोरी गर्नेलाई नियन्त्रण गर्ने वा आवश्यकता अनुसार दण्डित गर्ने अर्को पाटो रहेको उल्लेख गरे ।
पूँजीबजारमा देखिने कारोबारमा अपारदर्शिता, विभिन्न प्रकारका कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता समस्याका सम्बन्धमा नियामकले शून्य सहनशीलताका साथ काम गर्नुपर्ने अर्थमन्त्री पौडेलको सुझाव छ । सबै लगानीकर्ताहरूले भरोसा जित्ने गरी नियामकले लगानी गर्न सक्ने वातावरण बनाउनुपर्नेमा पौडेलले जोड दिएका छन् ।
अर्थतन्त्रको ऐना भनिरहँदा पूँजी बजारलाई सबैको नजरमा राम्रो र उज्ज्वल भविष्य देख्न सक्ने बनाउनमा बोर्डले सशक्त भूमिका खेल्ने अपेक्षा समेत अर्थमन्त्री पौडेलको रहेको छ ।