logo
२१ जलविद्युत् कम्पनीले लाभांश दिने, पाँच कम्पनीले पहिलोपटक लाभांश दिँदै कुन कुनले लाभांश नदिने ?
२१ जलविद्युत् कम्पनीले लाभांश दिने, पाँच कम्पनीले पहिलोपटक लाभांश दिँदै
१९ पौष २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ९१ ओटा जलविद्युत् कम्पनीमध्ये २१ ओटाले यस वर्ष लगानीकर्तालाई लाभांश दिने निर्णय गरेका छन् । हालसम्ममा ५२ कम्पनीले लाभांशसम्बन्धी निर्णय गरेकोमा २१ ओटाले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश दिने भएका हुन् । बाँकी ३१ कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । 

माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् कम्पनी, भगवती हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, चिलिमे जलविद्युत् कम्पनी, मान्डु हाइड्रोपावर, ग्रीन भेन्चर्स, सानिमा माई, कुथेली बुखरी, नेपाल हाइड्रो, साहस ऊर्जा, विन्ध्यवासिनी, कालिका पावर, मन्दाकिनी, अपि पावर, सुपर मादी, बुटवल पावर, राधी विद्युत्, सगरमाथा जलविद्युत्, युनाइटेड इदी मर्दी र अरुण भ्याली हाइड्रोपावर कम्पनीले लाभांश दिने भएका हुन् । यी कम्पनीमध्ये कतिपयको लाभांश साधारणसभाबाट पारित भइसकेको छ भने बाँकीले पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् । केहीको बोनस शेयर साधारणसभाबाट पारित भएर सूचीकृतसमेत भइसकेको छ 

लाभांश दिएका २१ कम्पनीमध्ये अधिकांशको लाभांशदर गतवर्षको तुलनामा बढेको छ । तीन कम्पनीको लाभांशदर घटेको छ । कालिका पावर, चिलिमे जलविद्युत् कम्पनी र युनाइटेड इदी मर्दी एन्ड आरबीबी हाइड्रोपावरको लाभांशदर गतवर्षको तुलनामा यस वर्ष घटेको हो । 

पाँचओटा कम्पनीले पहिलोपटक लाभांश दिन लागेका हुन् । ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी र साहस ऊर्जाले पहिलोपटक शेयरधनीलाई लाभांश दिन लागेका हुन् । 

ग्रीन भेन्चर्सले २०७९ चैतमा, कुथेली बुखरीले २०८० असारमा, सुपरमाई हाइड्रोपावरले २०७९ माघमा, सगरमाथा जलविद्युत् कम्पनीले २०७९ चैतमा र साहस उर्जाले २०७८ असोजमा सर्वसाधारणलाई शेयर बाँडफाँट गरेका थिए । गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीमध्ये अरुण भ्याली हाइड्रोपावर र अपि पावर कम्पनीले गतवर्ष लाभांश दिएका थिएनन् । 

कुन कुनले लाभांश नदिने ?

जलविद्युत् कम्पनीहरू धेरैजसो भर्खर सर्वसाधारणलाई शेयर निष्कासन गरेर धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका छन् । धेरैजसोले विद्युत् उत्पादन पनि गरेका छैनन् । यस कारण पनि उनीहरूले लाभांश दिन नसकेका हुन् ।

लाभांश नदिनेमा पिपुल्स हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, मोदी इनर्जी, रसुवागढी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, दोर्दी खोला जलविद्युत् कम्पनी, हिमालयन पावर पार्टनर, भूगोल इनर्जी, दोल्ती पावर, मेन्छियाम हाइड्रोपावर र लिबटी इनर्जीे छन् । त्यस्तै मकर जितुमाया सुरी, सानिमा मिडल तमोर, इङ्वा हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, माथिल्लो मैलुङ खोला, न्यादी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रो, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर, हिमालय ऊर्जा विकास कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, भिजन लुम्बिनी, राप्ती हाइड्रो कन्स्ट्रक्सन एन्ड जनरल र मिड सोलु हाइड्रोपावरले गत आवको मुनाफाबाट लाभांश नदिने भएका हुन् । यी सबै कम्पनीले पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् । 

यी कम्पनीमध्ये मैलुङखोला जलविद्युत् कम्पनीले अघिल्लो आव २०७९/८० को मुनाफाबाट २ दशमलव २३ प्रतिशत बोनस शेयर र शून्य दशमलव १२ प्रतिशत नगद लाभांश दिएको थियो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.