मलाई अमेरिका यही मलाई जापान पनि यही भन्ने पशुपति शर्माको गीतले युवा पुस्ताका धेरै मानिसलाई स्वदेशमा विशेष गरी कृषिकर्ममा प्रवेश गर्न उत्प्रेरणा दियो । उक्त गीतको भावनाबाट ओतप्रोत भएर कति त विदेश जाने योजनाबाट पछि समेत हटे । परन्तु गीतमा भनेझैं स्वदेशले युवापुस्ताका सपना, भावना, चाहना र आकांक्षाहरूलाई पूरा गर्ने अवस्था थिएन । गीतमा सोचेझैं जिन्दगी रैनछ भन्दै तिनै मान्छेहरू वैदेशिक रोजगार एजेन्सी र शैक्षिक कन्सल्टेन्सी धाउन थाले । देशको भौतिक पूर्वाधार, प्रशासनिक जटिलता, सेवा र सुविधा प्राप्तिको अवस्था, प्रक्रियागत जटिलता तथा वैयक्तिक स्वतन्त्रताको अवस्थाले उनीहरू स्वदेशमा टिक्न सक्ने अवस्था थिएन । भावनाले मात्रै टिक्ने अवस्था थिएन । आवेगमा हुने निर्णयहरू टिकाउ हुँदैनन् र अधिकांश असफलतामा गएर टुँगिन्छन् भन्ने मान्यताको माथिल्लो उदाहरण एक प्रतीकका रूपमा रहेको छ ।
म स्वदेशमा केही गर्छु भन्ने अर्को पुस्ता पनि यो देशमा छ । देशभक्तिको भावनाबाट उत्प्रेरित यो समूहमा पनि माथि भनेझैं देशको भौतिक पूर्वाधार, प्रशासनिक जटिलता, सेवा र सुविधा प्राप्तिको अवस्था, प्रक्रियागत जटिलता तथा वैयक्तिक स्वतन्त्रताको अवस्थाका कारण यी भावना पनि छोटो समयमा वाष्पीकृत भएर जाने प्रवृत्ति आम रूपमा देखिएको छ ।
- देशका विभिन्न क्षेत्र एक्कासि मौलाउने, सारा समाज त्यही क्षेत्रबाटै आफ्नो उन्नति देख्ने अनि केही व्यक्तिले पूर्णलाभ लिइसकेपछि साराका सारा लगानीकर्ता डुब्ने लगानीले समस्या ल्याउँछ ।
- आजको युवालाई देशको यथार्थस्थिति चित्रण गरी यथार्थ दिशामा हिँडाउने अभ्यासको थालनी सबै क्षेत्रबाट एकसाथ र एकनाशबाट हुनु जरुरी छ ।
- व्यवसाय छनोट गर्दा, लगानीको सोच विकास गर्दा र लगानी विस्तार गर्दा आवेग होइन तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्तारूपी सिंढीहरूमा क्रमागत रूपमा टेकेर मात्र गर्नुपर्छ ।
- जीवन र जगत्का हरेक पक्षमा छद्म ज्ञान, अज्ञान र ज्ञानका बारेमा उदाहरणसहित दीक्षित गर्न आवश्यक छ ।
समाजमा एउटा वर्ग छ जसलाई अंग्रेजीमा र्यावल राउजर भन्छन् । मानिसका अन्तरकुन्तरमा रहेको भावनालाई मीठा, चर्का, लोभलाग्दा पाराले उक्साउँदै स्वदेशमा के छैन अन्त के छ भन्दै यस्ता भावनालाई उकास्न माहिर खेलाडीहरूले भावनामा बग्ने खालका कलिला मस्तिष्कहरूलाई म त के के न गर्न सक्छु भन्ने भ्रम पैदा गरिदिन्छन् र विषयप्रति चरम आशक्ति पैदा गरिदिन्छन् । विषयमा चरम आशक्तिले त्यस्तै विषयतिर मानिसहरूलाई अझ डुबाउँछ, गहिराइमा डुब्दै जाँदा अब माथि उत्रन सक्दिन भन्ने अवस्था सृजना भई निराशा र क्रोध उत्पन्न हुन जान्छ । अन्ततोगत्वा यस्ता मानिसहरू के गर्ने र के नगर्ने द्विविधामा आफ्नो जीवनलाई नै लक्ष्यविहीन गन्तव्यतिर लैजान्छन् जहाँ न योजना हुन्छन् न कुनै कार्यपद्धति नै ।
उहिले उहिले रिकुटेहरूले लाहुरको सानसौकतको बयान गरी युद्धमा बत्तीमा पुतली होमिएसरह होमिन तयार हुने गरी युवाहरूलाई भर्ती गराउँथे । रिकुटेका जस्तै कला भएका एकथरी मानिस लगानी गर्नुपर्छ, उद्योगपति बन्नुपर्छ, स्वदेशमा केही गर्नुपर्छ, बाहिर गएर काम छैन, स्वदेशको सेवा गर्नुपर्छ भन्दै युवा मस्तिष्कमा आवेग सृजना गर्दै आवेगात्मक लगानीमा उत्प्रेरित गर्छन् । रातारात करोडपति बनिन्छ, रातारात अर्बपति बनिन्छ भन्दै केही छद्म उदाहरण र पात्र तयार गर्ने, विश्वका सफलतम व्यवसायी, लगानीकर्ता र उद्योगपतिका उदाहरण दिँदै युवा मस्तिष्कमा आवेग सृजना गरी लगानी गर्न उक्साउने पनि गरिन्छ । स्टार्टअपका सन्दर्भमा एलन मस्क, विल गेट्सका उदाहरण दिँदै अनि लगानीकर्ताका लागि बारेन बफेटका उदाहरणहरू दिँदै युवा मस्तिष्कमा आवेग सृजना गर्ने आमप्रवृत्ति तेस्रो विश्वमा व्याप्त रहेको छ ।
शास्त्रमा भनिएको छ, छद्म ज्ञानभन्दा बरु अज्ञान नै श्रेयस्कर हुन्छ । त्यसैले पश्चिमी मुलुकका शिक्षालयहरूमा जीवन र जगत्का हरेक पक्षमा छद्म ज्ञान, अज्ञान र ज्ञानका बारेमा उदाहरणसहित दीक्षित गर्ने गरिन्छ । जिब्रोमा मिष्ठान्न र चित्तमा विष हुनेका लक्षणहरू, भावनालाई आवेगमा बदल्ने र्यावल राउजरका लक्षणहरू, सहयोग गर्न तत्परका पछाडि लुकेका स्वार्थका लक्षणहरू र तिनबाट बच्ने उपायका बारेमा पश्चिमी विश्वविद्यालयमा खोज अनुसन्धान पनि गहन रूपमा हुने गर्छ । को अतिवादी हुन्, को व्यवहारवादी हुन्, को छद्मी हुन् भन्ने विषयमा पनि समानान्तर रूपमा पश्चिमी शिक्षालयका विद्यार्थीहरूलाई दीक्षित गर्ने गरिन्छ । ताकि जीवन र जगत्सँग साक्षात्कार गर्दा कलिला मस्तिष्कहरू अव्यावहारिक, कार्यान्वयन हुन नसक्ने अप्राप्य आशामा जीवन बर्बाद नगरुन् ।
नेपाल पनि भावनात्मक र आवेगात्मक भेलमा बढी प्रवाहित हुने देशमा गनिन्छ । के राजनीति, के धर्म, के समाजसेवा, के दान, के त्याग, के बलिदान सबै क्षेत्रमा धरातलीय यथार्थ र वस्तुगत आधारमा भन्दा आवेगका भरमा निर्णय गर्ने नेपाली समाजको आमचरित्रका रूपमा रहेको छ । दिउँसो समाजसेवाका नाममा जग्गा दान गर्ने अनि साँझ ला मैले त के नचाहिँदो काम गरेँ भनेर रातभर निदाउन नसक्ने शैलीको निर्णय प्रक्रिया नेपाली समाजका हरेक क्षेत्रमा व्याप्त रहेको छ । नेपालमा साझेदारी व्यवसायहरू पनि आवेगका आधारित भई शुरू हुन्छन् । तर, जीवन, जगत् आवेगले बगाएको दिशाभन्दा भिन्न दिशामा जान्छ भन्ने ज्ञान भएको बखत ती साझेदारीहरू असफल भएका उदाहरणहरू नेपालभरी छ्याप्छ्याप्ती पाइन्छन् । जसरी रिकुटेहरूले युवा मनलाई लाहुरेमा भर्ती हुन उक्साउँछन्, त्यसरी नै लगानीका क्षेत्रमा पनि थुप्रै रिकुटेहरूले कलिला युवा मस्तिष्कलाई लगानी गर्नुपर्छ भनी रिकुटे शैलीमा आवेगात्मक क्षेत्रतर्फ डोर्याउँछन् । कसैले उक्साएको भरमा नेपाली समाज लगौटी फुकालेर पगडी लगाउँदै मख्ख पर्ने आवेगको शिकार आम रूपमा हुने तमाम उदाहरणहरू नेपालको राजनीतिक इतिहासमा समेत प्रशस्त देख्न पाइन्छन् । देशका विभिन्न क्षेत्रहरू एक्कासि मौलाउने, सारा समाज त्यही क्षेत्रबाटै आफ्नो उन्नति देख्ने अनि केही व्यक्तिले पूर्णलाभ लिइसकेपछि साराका सारा लगानीकर्ता डुब्ने नेपालको क्षेत्रगत विकास विनाशको आमचरित्र नै बन्न थालेको छ ।
सञ्चारमाध्यममा पनि सफलताका कथाहरूले मात्र अग्रस्थान पाउने गर्छन् । असफलताका कथाहरूले सञ्चारमाध्यममा बिरलै स्थान पाउने गरेको छ । फलानोले विदेशबाट नेपाल फर्केर पशुफार्म सञ्चालन गर्यो, फलानोले विदेशबाट आएर तरकारी खेतीबाट वार्षिक यति कमाउँछ उति कमाउँछ भन्ने कथाहरू सञ्चारमाध्यममा प्रशस्तै छापिन्छन् । परन्तु ती सफल कथाहरू तीनचार वर्षभित्र कुन हविगत बेहोर्न बाध्य भए, केकस्ता व्यवधानका कारण ती व्यवसायहरू बन्द भए भन्ने सही चित्रण कतै पनि हुने गरेको छैन । यस्तै लहैलहैमा लागेर मानिसहरू लगानी गर्छन् परन्तु केही समयपश्चात् जीवन र जगत्का भोगाइ र देशका रीतिथितिले सृजना गरेका बाध्यताले ती लगानी कुन अवस्थाबाट गुज्रिरहेका हुन्छन् भन्ने विषय भोग्नेले मात्र थाहा पाउने विषय हो ।
यस परिस्थितिमा आजको युवालाई देशको यथार्थस्थिति चित्रण गरी यथार्थ दिशामा हिँडाउने अभ्यासको थालनी सबै क्षेत्रबाट एकसाथ र एकनाशबाट हुनु जरुरी छ । किन भने आवेगमा आधारित लगानीले लगानी डुबाउने मात्रै होइन भविष्यमा लगानी गर्न चाहने यथार्थवादी लगानीकर्तालाई पनि निरूत्साहित गर्ने गर्छ ।
तसर्थ मुलुकलाई आवेगात्मक लगानीको दलदलबाट फस्नबाट जोगाउन यस अभियानको श्रीगणेश शिक्षालयबाट गर्नुपर्छ । व्यवसाय छनोट गर्दा, लगानीको सोच विकास गर्दा र लगानी विस्तार गर्दा आवेग होइन तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्तारूपी सिंढीहरूमा क्रमागत रूपमा टेकेर मात्र गर्नुपर्छ भन्ने विषयमा आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने पद्धतिलाई सबै तहका शिक्षालयहरूले अंगीकार गर्नुपर्छ । आवेगात्मक र जीवनको उत्तराद्र्धमा उपयोगमा आउने विषयवस्तुहरूमा युवा पुस्तालाई अभ्यस्त बनाउनुको साटो गृहस्थ धर्म अनि जीवन जगत्को यथार्थ चित्रण गर्ने पञ्चतन्त्रका कथाहरूलाई विद्यालयका पाठ्यक्रमहरूमा राखी विद्यार्थीहरूलाई दीक्षित गर्नु आवश्यक छ ।
दोस्रो, तालिम प्रदान गर्ने, शीप सिकाउने, अनुसन्धानकर्ता, उत्प्रेरक र इन्कुबेटर, स्टार्टअपका पक्षमा बहस पैरवी गर्नेहरूले पनि कलिला मस्तिष्कहरूलाई आवेगात्मक शैलीमा होइन बरु तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्तारूपी तथ्यपरक पद्धतिलाई अंगीकार गरी निर्णयमा पुग्न उत्प्रेरित गर्नुपर्छ । नेपाल सरकारका निकायहरू खास गरी लगानीका क्षेत्रमा उत्प्रेरित गर्ने निकायहरूले पनि तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्तामा आधारित लगानी निर्णय प्रक्रियामा जान कलिला मस्तिष्कहरूलाई उत्प्रेरित गर्नुपर्छ ताकि एकस्तरको तथ्यपरक अध्ययनपश्चात् मात्र नवआगन्तुकहरू व्यवसायमा प्रवेश गरुन् । सञ्चारमाध्यमले पनि सफलताका कथाहरूको महिमामण्डन मात्र गर्ने होइन असफलताका कथाहरूको पनि त्यत्तिकै शल्यक्रिया गरी यथार्थ बाहिर ल्याउनुपर्छ ताकि सफलताका कथारूपी आवेगका वशमा परी अन्धाधुन्ध लगानीरूपी अनिश्चित भविष्यमा युवापुस्ता नफसून् । अभिभावकहरूले पनि नीतिशास्त्रका वचनहरू बेलाबेलामा आफ्ना सन्तानहरूलाई सुनाइरहनुपर्छ ताकि अतिवादको शिकारबाट आफ्ना सन्तान पीडित नहोऊन् ।
सारमा भन्नुपर्दा लोभ, ईष्या, प्रमाद, अनुकरण, अहंकार र श्रुतिवश गरिने लगानी, व्यवसाय प्रवेशलाई निरुत्साहित गर्दै तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्तामा आधारित लगानी र व्यवसाय प्रवेशलाई सरकार, निजीक्षेत्र, शिक्षालय, अनुसन्धानकर्ता र उत्प्रेरकहरूले प्रोत्साहन गर्नु आवश्यक छ । धरातलीय यथार्थमा आधारित लगानीले मात्रै आर्थिक गतिविधिहरूलाई चलायमान गर्दै बलियो अर्थतन्त्रको जग हाल्न मद्दत गर्छ । यसका विपरीत माथि भनिएझैं आवेगमा आधारित लगानीले अर्थतन्त्र क्षणिक अवधिमा साबुनको फोका सरल फुले पनि आवेगात्मक प्रवृत्तिको नशा उत्रना साथ पूरै अर्थतन्त्र साबुनको फोका विलाए सरल विलुप्त हुन जान्छ । तसर्थ युवा पुस्तालाई आवेगात्मक होइन तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्तामा आधारित लगानी र व्यवसाय सञ्चालन गर्ने पद्धतिमा अभ्यस्त बनाऔं । यसैमा देशको युवापुस्ताको र हामी सबैको कल्याण छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।