काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी तत्कालका लागि अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । हाल बोर्ड सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका शाक्यले तत्कालका लागि अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ मा संशोधन गरेसँगै शाक्यले तत्कालका लागि बोर्डको अध्यक्षको काम गर्न पाउने बाटो खुला भएको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा संशोधन गर्दै धितोपत्र बोर्डको अध्यक्ष पद रित्त रहेमा बोर्डमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरिएको छ । ‘संशोधित ऐनको व्यवस्था बमोजिम वैशाख १ गतेदेखि लागू हुनेगरी शाक्य बोर्डको अध्यक्ष हुनुभएको छ,’ बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘उनले बोर्ड अध्यक्षको रूपमा सबै काम गर्ने अधिकार ऐनले दिएको छ ।’
बोर्डका अध्यक्ष नहुँदा केही महीनादेखि धितोपत्रहरूको सार्वजनिक निष्कासन रोकिइरहेको बेला उनको नियुक्तिले सार्वजनिक निष्कासनको बाटो खुल्न सक्नेछ ।
हाल बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रोकिरहेको अवस्थामा तत्काल गर्नुपर्ने काम कारबाही अघि बढाउन बाटो खुला भएको छ । पुस १९ गतेपछि सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया रोकिएको छ । धितोपत्र बजार चलायमान बनाइराख्ने सार्वजनिक निष्कासन ठप्प हुँदा लगानीकर्तामा समेत उत्साह कम देखिएको छ । ऐनले नै बोर्डको अध्यक्ष सरह जिम्मेवारी दिएकाले शाक्यले तीन महीनाभन्दा बढी अवधिसम्म रोकिएका अत्यावश्यक काम कारबाही अघि बढाउने देखिन्छ ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि यतिबेला आवेदन संकलन गर्ने काम सम्पन्न गरी पाँच जनाको नाम ‘सर्टलिस्ट’ समेत गरिसकिएको छ । गत फागुन १६ गतेदेखि ३० गतेसम्म १९ जनाको आवेदन संकलन गरी तीमध्येबाट योग्य पाँचजनाको नाम चैत २५ गते सर्टलिस्ट भएको हो ।
गत पुस २० गतेपछि रित्त रहेको बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीनसदस्यीय सिफारिश समिति गठन गरेको थियो । अर्थ मन्त्रालयका अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको उक्त समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि कार्यविधि नै तयार गरेर काम अघि बढाएको हो । यस अघि बोर्डको दैनिक प्रशासकीय कामका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई जिम्मेवारी दिइएको थियो ।