काठमाडौं । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । आम सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
कम्पनीले पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरी चैत १५ गते बाँडफाँट गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका अयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि बाँडफाँट गरेको हो ।
यी बाहेक पनि कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता आईपीओ समेत बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासनमा आउने कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सार्वजनिक निष्कासन छिटोमा २०८२ बैशाख २ गतेसम्म रहने र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा बैशाख ११ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले प्रबर्द्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भि। विद्युत आयोजना ब्लक–१ बाट २०८० साल पुस ११ र १० मेगावाट सौर्य पि.भि विद्युत आयोजना ब्लक –२ बाट २०८० साल वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरू गरिएको हो ।
८० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रुपैयाँकै रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६४ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । सो पश्चात् कम्पनीमा संस्थापकतर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।