मङ्सिर १४, झापा । समयमा विद्युत् महसुल नबुझाउने दुईसय ५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रू. ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।
गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इञ्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारबाहीको सूचीमा राखेको र उनीहरुबाट रू. एक करोड १५ लाख ६० हजार बक्यौता उठाउने लक्ष्य राखिएको छ । ‘रू. २५ हजारभन्दा बढी कसैको पनि बक्यौता छैन’, सिंहले भन्छन् । दुई महीनासम्म बक्यौता नतिर्ने ग्राहकको जुनसुकै बेला लाइन काटिन सक्ने उनले बताए ।
यस्तै, प्राधिकरणले विजुली चोर्नेहरुबाट रू. पाँचलाख बराबरको सामान जफत गरेको छ । प्राधिकरणको टोलीले मङ्गलवार शरणामती, कनकाई नगरपालिका र मदरगाछबाट उक्त सामान बरामद गरेको बताइएको छ । रासस