काठमाडौं । युनिक सेवा गार्मेन्ट प्रालिकी सञ्चालक गंगा छन्त्याल इन्स्पाइरिङ वुमन आन्त्रप्रेनर अवार्डबाट सम्मानित भएकी छिन् । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा भएको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ मा छन्त्याललाई सम्मानित गरिएको हो ।
२०७८ सालमा दर्ता भएर सञ्चालनमा रहेको युनिक सेवा गार्मेन्ट बाग्लुङ जिल्लाको तामानखोला गाउँपालिका वडा नम्बर ५, नर्जाखानीमा छ । यस गार्मेन्टले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिरहेको सञ्चालक छन्त्याल बताउँछिन् ।
अपाङ्गताका भएकी सफल महिला उद्यमीको रूपमा परिचित छन्त्याल अहिले आफ्नो व्यवसायप्रति सन्तुष्ट छिन् । शारिरिक अपाङ्गताको तगारो पन्छाएर व्यवासायिक उडान भर्न सफल भएको अनुभव उनी सुनाउँछिन् ।
गार्मेन्ट सञ्चालन गर्नुअघि जागिरको खोजीमा विभिन्न संघसंस्थामा चिया पकाउने, कुचो लगाउने कामका लागि बिन्ती बिसाउँदा समेत कसैले नपत्याएको तितो अनुभव पनि उनले सुनाइन् । आफू सक्षम हुँदाहुँदै सामान्य जागिरका लागि समेत नपत्याएको अवस्थालाई चिर्दै अहिले छन्त्यालले एक दर्जनभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेकी छन् ।
न्यू बिजनेश एजले प्रदान गरेको अवार्डले आगामी दिनमा अझ मजबुत भएर काम गर्ने उत्साह थपेको भनाइ छन्त्यालको छ । नेपालमा अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय निकै कम रहेको र त्यसमाथि पनि आदिवासी जनजाति अपाङ्गता भएका महिलाले सफलतापूर्वक सञ्चालन गरेको व्यवसाय नगन्य रहेको छन्त्याल बताउँछिन् ।
आगामी दिनमा अपाङ्गता भएका सफल महिला उद्यमीको संख्या बढाउनसमेत आफूले प्रयास गर्ने प्रतिवद्धता उनले व्यक्त गरेकी छन् । यसका लागि उनले विभिन्न तालिम लिइरहेको बताएकी छन् ।