काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)की अध्यक्ष सुनैना पाण्डे ‘वुमन इन टेक’ बाट सम्मानित भएकी छन् । बुधवार राजधानीमा न्यू बिजनेश एज लिमिटेडले आयोजना गरेको पाँचौं ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ मा उनलाई सम्मान गरिएको हो ।
उनले क्यान महासंघभित्र सचिव, महासचिव र उपाध्यक्षसहितका पदमा रहेर विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् । सफ्टवेयर विकास कम्पनी जनरल टेक्नोलोजी प्रा.लि. (जेनटेक)की प्रबन्ध निर्देशक समेत रहेकी पाण्डेको आईटी उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव छ ।
सन् १९९८ मा प्रोगामर र इन्स्ट्रक्टरको रुपमा सूचना, सञ्चार प्रविधिको क्षेत्रमा लागेकी उनले विभिन्न चरणमा आएका माइक्रोसफ्ट अपरेटिङ्ग सिस्टम र यसको स्थानीकरण गर्ने काममा लामो अनुभव छ ।
सरकारले गठन गरेको सूचना प्रविधिसम्वन्धी उच्चस्तरीय आयोगमा बसेर पनि काम गरेकी उनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्याउन पनि काम गरिन् ।
महिला उद्यमी महासंघमा आवद्ध भई उनले महिला उद्यमीका लागि इकमर्श प्लेटफर्म–विनबिज बनाउन सहयोग गरिन् । सन् २०११ मा स्थापित ‘जेनटेक’को नेतृत्व गरिरहेकी उनले प्रविधिसम्बन्धी नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छन् ।
जेनटेकले बैंकिङ र वित्त, उत्पादन, बीमा, दूरसञ्चार, स्वास्थ्य सेवा, सरकार, शिक्षा, ई–कमर्स र खुद्रा क्षेत्रमा विभिन्न विकास परियोजनाहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।