काठमाडौं । केबी एग्रो एण्ड रिसर्च प्रालिकी प्रमुख कार्यकारी अधिकृत केश्मा थापा युथ वुमन आन्त्रप्रेनर अवार्डबाट सम्मानित भएकी छिन् ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा भएको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ मा थापालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
थापाले व्यस्थापनको जिम्मेवारी लिएको केबी एग्रो एण्ड रिसर्च प्रालिले ब्रोइलर कुखुरा वधशाला सञ्चालन गरिरहेको छ । यो कम्पनी धुनीबेसी–८, धादिङमा सञ्चालित छ । हाल केबी एग्रोमा १२० जनाले रोजगारी पाइरहेका छन् ।
युकेमा स्नातकोत्तर गरेकी थापाले आफ्नै बाबाको सल्लाहमा यो व्यवसायमा जिम्मेवारी लिएको बताइन् । धेरै युवाहरू विदेशमा अध्ययन गर्न गएर विदेशमै पलायन भैरहेको अवस्थामा उनी भने नेपालमै 'केही गर्न' फर्किएको बताउँछिन् ।
किसानहरूबाट ब्रोइलर कुखुरा किनेर प्रोसेसिङपछि २०८० मंसिरदेखि नै बजारमा विक्री गर्न शुरु गरिएको थापाले जानकारी दिएकी छन् । यस वधशालाले दैनिक १० हजार केजी गुणस्तरीय मासु विक्री गरिरहेको भनाइ थापाको छ ।
आफ्नो वधशालामा ल्याइएका कुखुराको स्वास्थ्य परीक्षण गरी स्वस्थकर कुखुरा मात्र वध गर्न सिफारिस हुने र अस्वस्थकर कुखुरा फिर्ता हुने जानकारी पनि थापाले दिएकी छिन् । आफ्नो कम्पनीले किसानहरूलाई दाना र चल्ला प्रदान गर्ने र त्यसबापत कुखुरा दिने गरी सुविधा प्रदान गरिरहेको थापाले बताइन् । यो किसिमको वधशाला नेपालमै पहिलो भएको दाबी समेत थापाको छ ।