काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्षका लागि वितरण गर्ने प्रस्ताव गरेको ८ प्रतिशत लाभांश जेठ २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउनेछन् ।
कम्पनीले यस वर्ष गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा करसमेत ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा करसमेत ७३ करोड १४ लाख ५८ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको थियो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार १० गते १८औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका छन् ।