काठमाडौं । मंगलवार पनि नेप्से वृद्धिले निरन्तरता पाएको छ । सोमवार २३ दशमलव १९ अंकले बढेको नेप्से परिसूचक मंगलवार २५ दशमलव शून्य ७ अंकले बढेको हो । यो दिन २ हजार ६८३ दशमलव २५ विन्दुसम्म पुगेको नेप्से २ हजार ६५३ दशमलव ५७ विन्दुसम्म झरेको थियो । लगानीकर्ताको उत्साह कायम रहँदा बजारले दोस्रो दिन पनि बढेर निरन्तरता दिएको हो ।
यो दिन १९६ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ५२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । पियोर इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ६८१ रुपैयाँ ७० पैसा कायम भएको हो ।
त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य भने प्रतिकित्ता ४८ रुपैयाँ ७० पैसाले बढेर अन्तिम मूल्य ५३६ रुपैयाँ ३० पैसा कायम भएको हो । बढेको बजारमा रावा इनर्जि डेभलपमेन्टको शेयर मूल्य भने सर्वाधिक ६ दशमलव १४ प्रतिशत घटेको छ । प्रतिकित्ता ५३ रुपैयाँ ८० पैसाले घटेर रावा इनर्जिको शेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ ५४ पैसा कायम भएको हो ।
मंगलवार बजारसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ । सोमवार बजार बढे पनि कारोबार रकम घटेको थियो । सोमवार ८ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको १ करोड ७५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार १० अर्ब १६ करोड रुपैयाँभन्दा बढीको २ करोड ३६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यस दिन हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक तर्फको शेयरको सर्वाधिक रकमको कारोबार भएको छ । यस कम्पनीको संस्थापक तर्फको शेयर ५८ करोड ४९ लाख रुपैयाँभन्दा बढी कारोबार भएको हो । संस्थापकतर्फको यस कम्पनीको शेयर मूल्य भने ५ दशमलव ८३ प्रतिशत बढेर २२३ रुपैयाँ १ पैसा कायम भएको छ ।
मंगलवार कुल बजार पूँजीकरण ४१ अर्ब ७७ अर्ब २९ लाख रुपैयाँले बढेको छ । सोमवार ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण मंगलवार ४४ खर्ब ६० अर्ब ९८ करोड ८३ लाख रुपैयाँ कायम भएको हो ।
यस दिन सबै समूहगत परिसूचक बढेका छन् । वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव १२ प्रतिशत बढेको छ । त्यस्तै व्यापारिकको १ दशमलव शून्य ७ प्रतिशत, अन्यको १ दशमलव ५१ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव २६ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २५ प्रतिशत, जीवन बीमाको १ दशमलव २८ प्रतिशत, लगानीको शून्य दशमलव ६८ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४६ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव २८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७१ प्रतिशत र बैंकिङको शून्य दशमलव ९३ प्रतिशत परिसूचक बढेको छ ।