काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फण्ड १ खारेज भएको छ । योजना २०८१ साल फागुन १९ गतेदेखि परिपक्व भएसँगै खारेजी प्रक्रियामा गएको थियो । योजना सञ्चालनका लागि जारी गरिएको ८ करोड २० लाख रुपैयाँ बराबरको इकाईहरु धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत रहेको थियो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको सूचीकृत इकाईको समेत योजना परिपक्कपश्चात् सूचीकरण खारेजी गरिएको थियो ।
योजना परिपक्वपछि नियामक निकायबाट खारेजी गर्न स्वीकृति प्राप्त भएको मितिदेखि तीन महिनाभित्र योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गर्नुपर्ने हुन्छ । नेपाल धितोपत्र बोर्डले यस योजना खारेजीका लागि २०८१ साल फागुन २८ गते स्वीकृति प्रदान गरेको थियो ।
योजना अन्तर्गतका सम्पत्तिलाई नगदमा परिणत गरी लगानीकर्ताहरुलाई प्रतिफल समेत रकम फिर्ता गर्ने कार्य योजना व्यवस्थापकले जेठ २७ गतेदेखि सुरु गरेको छ । जेठ २६ गते लेखापरिक्षण भई प्रमाणित भएको वित्तीय विवरणको आधारमा कायम भएको अन्तिम प्रतिइकाई मूल्य ११ रुपैयाँ ३० पैसामा प्रचलित कानून बमोजिम कर कट्टा गरी इकाईधनीहरुको बैंक खातामानै रकम जम्मा गर्न सुरु गरिएको जानकारी योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले दिएको छ । यस योजनाले सात वर्षको अवधिमा पाँच आर्थिक वर्ष प्रतिफल वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०७५÷७६ मा ७ प्रतिशत, ०७६/७७ मा १५ प्रतिशत, ०७७/७८ मा ४० प्रतिशत, ०८०/८१ मा ९ प्रतिशत र अन्तिम आर्थिक वर्ष ०८१/८२ मा १३ प्रतिशत प्रतिफल वितरण गरेको योजना व्यवस्थापकले उल्लेख गरेको छ । योजनाको औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको समेत योजना व्यवस्थापकले प्रष्ट पारेको छ ।